हिमालयन बैंकमा अध्यक्ष श्रेष्ठका काण्डै काण्ड, राष्ट्र बैंककै मिलेमतो
काठमाडौं । हिमालयन बैंकका सञ्चालकहरुले गरेको बद्मासीप्रति बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले आँखा चिम्लदा हिमालय बैंक जोखिममा पर्ने अवस्था देखिएको छ ।
बेलायतको सिडिसी ग्रुपले हिमालयन बैंकमा रहेको पाकिस्तानको हविब बैंकको शेयर खरिद गर्ने तर्फ चासो देखायो । तर, बैंकका केही सञ्चालकहरु त्यसलाई सफल हुन दिएका छैनन् । किनकी बैंकका सञ्चालकहरुले हालको जस्तो रजाईं गर्न पाइंदैन भन्ने राम्रोसँग बुझेका छन् ।
बैंकमा अहिले खरीद प्रक्रियादेखि कर्मचारीको बढुवा, भवन निर्माण, सवारी साधन खरिद, शाखा विस्तार र प्रविधि शाखामा अध्यक्ष मनोजबहादुर श्रेष्ठको हालीमुहाली रहेको छ । उनले बैंकमा जातियवादलाई हावी बनाएको बैंककै कर्मचारीहरु बताउँछन् ।
त्यसो त अध्यक्ष श्रेष्ठले आफू निकटकालाई विना धितो चाहिएको जति ऋण पनि उपलब्ध गराउँदै आएका छन् । त्यसको पछिल्लो उदाहरण हो, लियोन मोटर्स प्राली । लियोनलाई ठमेल शाखामार्फत गाडी आयात ऋणको निम्ती ऋण दिइएको छ । तर, त्यसको बिरुद्ध कुनै धितो भने राखिएको छैन ।
व्यक्तिगत जमानीमा सो कम्पनीले ऋण पाएको बैंक स्रोत बताउँछ । ब्यापारिक अनुभव र बैंकसँगको बिश्वास बिना नै बैंकमा आएर ‘मार्जिन अमाउण्ट’ मात्र देखाएको भरमा बैंकले त्यस्ताको एलसी खोल्न र ऋण दिन मिल्छ ? गंभिर प्रश्न उब्जिएको छ । बैंकले प्रबाह गरेको ऋणको फेहरिस्त हे-यो भने यस्ता दर्जनौ अनियमितता भेटिने बैंककै एक कर्मचारी बताउँछन् । त्यस्तै काम देखाउने क्रममा निर्देशिकाहरुको उलंघन भएको हुँदा खराब कर्जाहरु पनि बढ्दै गएको ति कर्मचारी बताउँछन् ।
अर्कोतर्फ बैंकको केन्द्रिय कार्यालय ठमेलबाट कमलादीमा सार्दा अध्यक्ष श्रेष्ठले नाताले साला पर्ने सुवर्णकृष्ण श्रेष्ठको कम्पनीमार्फत फर्निचर किनेर बैंकलाई करोडौं घाटा पु-याएर कमिसन कुम्ल्याए । जबकी ठमेलमा रहेका अधिकांश फर्निचर प्रयोग गर्न सकिने अवस्थाका थिए ।
तर, अध्यक्ष श्रेष्ठ र निर्देशक प्रचण्डबहादुर श्रेष्ठको मिलेमतोमा आर्थिक अनियमितता गरी साला सुवर्णकृष्णको कम्पनीबाट नयाँ फर्निचर खरिद गरेर बैंकलाई घाटा पु-याइएको छ । फर्निचर मात्र नभई कमलादीमा रहेको अधिकांश सामानहरु सुवर्णकृष्ण श्रेष्ठकै कम्पनीमार्फत चाइनिज ठेकेदारले आपूर्ति गरेपछि त अध्यक्ष श्रेष्ठको नियत नै खराब रहेको पुष्टि भएको छ ।
त्यस्तै बैंकको मानब संसाधन विभागमा समेत उस्तै बेथिति छ । ‘सूचना निकाल्ने, परिक्षा लिने औपचारिकता त पुरा गरिन्छ तर भर्ना भने अध्यक्ष वा डाइरेक्टरका आफन्तलाई नै गरिन्छ ।’ ति कर्मचारीले भने । कर्मचारीको क्षमता अभिवृद्धि र तालिममा अनियमितता भेटिएको छ ।
पाकिस्तानी सह–महाप्रवन्धकलाई अमेरिकामा तालिम लिन पठाउँदा ठूलो रकम खर्च गरिएको छ । बैंकबाट तालिमको अवसर पाएका र तालिम खर्चको उपभोग गरेका कर्मचारीहरुको सूची हेर्ने हो भने उनीहरु कि नेवार समुदायका छन् कि सञ्चालकका परिवारका सदस्य छन् ।
हिमालयन बैंकमा भएका यस्ता दर्जनौ अनियमिताका विषयमा राष्ट्र बैंकले वेवास्ता गर्दा सर्वसाधरणको निक्षेप कतै जोखिममा त पर्ने होइन भन्ने गंभिर आशंका उब्जिएको छ ।(यूनाइटेड पोस्ट साप्ताहिक )
प्रतिक्रिया