भैंसेपाटीमा भेलासँगै टाढिएका प्रचण्ड अन्ततः पुगे प्रधानमन्त्री निवास

oli and prachanda

  काठमाडौं । सभामुख चयन प्रकरणमा उपसभामुखका कारण टाढिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटघाट भएको छ ।

अध्यक्षद्वयबीच संवाद नै बन्द भएका समाचारहरु आइरहेका बेला अध्यक्ष दाहाल अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो । जतिबेला अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए ।

तर, उपसभामुख तुम्बाहाङ्फे सभामुखको उम्मेद्वारी टुंगो नलाग्दासम्म राजीनामा नदिने अडानमा छिन्।

सभामुखबारे निर्णयमा पुग्न नसक्दा गत पुस ११, १६ र २७ गतेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित भयो। अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ।

नेकपामा सभामुखबारे अन्यौलता अझै कायम नै छ। तर, आजको भेटमा सभामुखबारे छलफल हुने स्रोतको दावी छ।

उपसभामुखलाई राजीनामा दिलाउने सचिवालयको बैठकभन्दा पहिला अथवा २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली–प्रचण्डको सम्बन्धमा तिक्तता आएको थियो ।

वामदेव गौतम निवासमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु भेला भएका थिए । प्रचण्डले छुट्टै भेला गरेपछि प्रधानमन्त्री रुष्ट बनेका छन्।

सभामुखमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेका छन्। यस्तै, अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रस्ताव गरेका छन्। उपसभामुख तुम्बाहाङ्फेको पनि सभामुखमा दावी कायमै छ।

प्रतिक्रिया

सम्बन्धित