बालुवाटार जग्गामा कर्मचारी र भूमाफियाको मिलोमतो रहेको सिआईबीको ठहर

CIB

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ ।


सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको संयोजकत्वमा गठित अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदन शुक्रबार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई बुझाएको हो ।

सरकारलाई अझै अनुसन्धान पूरा नभएकाले म्याद थप गर्न सीआईबीले अनुरोध गरेको थियो । तर सरकारले म्याद नथपेपछि अहिलेसम्म भएको अनुसन्धानको आधारमा प्रतिवेदन बुझाइएको हो ।

उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया)सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएको निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ ।

‘कर्मचारीले जग्गा दलालसँग मिलेर सरकारी जग्गा ठगी र भ्रष्टाचार गरेको देखिन्छ । किर्ते कागजात बनाएर सरकारी जग्गा व्यक्तिको नाम गरिएको छ’, सीबीआईका एक अधिकारीले जानकारी दिँदै भने ।

सरकारी जग्गा व्यक्तिको नाम गराउन मुख्य भूमिका खेल्ने रामप्रसाद सुवेदी र शोभाकान्त ढकालसहित उच्च पदस्थ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

एक सयभन्दा बढी मालपोत, नापी, गुठीका कर्मचारीविरुद्ध कारबाहीको सिफारिस गरिएको छ । सीआईबीले अख्तियारका पूर्वप्रमुखआयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात र छवि पन्तको संलग्नता देखाएको छ ।

सीआईबीको प्रतिवेदनमा बालुवाटारको २ सय ९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको उल्लेख छ । (अन्नपूर्ण पोस्ट )

प्रतिक्रिया

सम्बन्धित