समुदाय-प्रहरी साझेदारीमा बन्याे ट्राफिक प्रहरी भक्तपुरको नयाँ भवन

भक्तपुर -

समुदाय-प्रहरी साझेदारी अवधारणामा महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवन सञ्चालनमा अाएकाे छ । सोमबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित भवनकाे उद्‍घाटन गरे ।

उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण गरेका हुन् । प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समितिका पदाधिकारीहरुलाई सम्मानपत्र दिएका छन् । खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आमनागरीकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउने बताए ।

समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय(प्रहरी साझेदारी” को अवधारणा ल्याएको खनालकाे भनाइ छ । उनले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताए । प्रहरीले अपराध विरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरु तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्न उनकाे निर्देशन छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्‍वराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुने बताए समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले भवन निर्माणमा जुटेकाे सहयाेगका प्रति धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित