तेस्रो पटक संसद्मा अवरोध,माघ २८ गतेसम्मका लागि बैठक स्थगित

Capture

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सांसदले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो । यसअघि सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले सदनको कामकारवाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारवाहीलाई अगाडि बढाउन माग गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित