धेरै काम गरिरहेका छौं, तर समाचार खालि बाँसुरी बजाएको मात्र आउँछः प्रधानमन्त्री
काठमाडौं । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वकांक्षी कामको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको काम भइरहदा पनि केही व्यक्तिलाई पीर परेको बताए ।
विकास निर्माणको काममा ‘नेकपाको सरकारले तीव्रता दिँदा केही व्यक्तिहरुमा पिर देखिएको छ’ उनले भने, ‘सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएकाले विरोधिहरुलाई त्यस्तो भएको हो ।’ सरकारले धेरै राम्रा काम गरिरहँदा पनि मिडियामा बाँसुरी बजाएको मात्रै आउछ भन्दै उनले व्यंग्ये प्रहार गर्दै सुशासनको र विकासको काम अघि बढाउँदा किन पिर परेको ? भनेर प्रश्न गरेका थिए ।
देशभर तुइन व्यवस्थापनको काम अगाडि बढिरहेको को अवस्थामा दार्चुलामा रहेका दुई वटा तुइनको फोटो राखेर सरकारको आलोचना गरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले विद्युतीय तार भूमिगत बनाउने परियोजनाको उद्घाटन गरेपछि परियोजना सम्पन्न भएपछि गुजुल्टिएका तार नभएपछि शहरको सुन्दरतामा पनि वृद्धि हुने बताए । ‘अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ,’ उनले भने । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारी योजना छ।
तार भूमिगत गर्ने काम महाराजगञ्ज क्षेत्रबाट सुरु गरिए पनि यस्तो काम देशका अन्य प्रमुख शहरमा पनि गरिने प्रधानमन्त्री ओलीले बताए ।
प्रतिक्रिया