निफः ‘बुलबुल’को डबल ह्याट्रिक,उत्कृष्ट अभिनेत्रीमा स्वस्तिमा खड्का
काठमाडौं । नेपालको तर्फबाट अस्कार अवार्डमा समेत सहभागिता जनाएको चलचित्र ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ६ वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । नेपाल पनोरमाको फिचरतर्फ ‘बुलबुल’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी च्वाइस अवार्ड अभिनेता र जुरी च्वाइस महिला गरी ६ वटा अवार्ड जितेको हो ।
विनोद पौडेल निर्देशित यो चलचित्रमा विनोदले उत्कृष्ट निर्देशक र पटकथाको अवार्ड पाए भने उत्कृष्ट अभिनेत्रीमा स्वस्तिमा घोषित भएकी थिइन् । यसै चलचित्रबाट मुकुन भुषाल र लक्ष्मी बर्देवालाई जुरीले उत्कृष्ट अवार्ड प्रदान गरेका थिए । यस्तै, निफमा चलचित्र ‘गोपी’ले पनि ह्याट्रिक गरेको छ । उत्कृष्ट चलचित्र जुरीतर्फ ‘गोपी’ छनोट भएको थियो । ‘गोपी’बाटै उत्कृष्ट अभिनेता को अवार्ड विपिन कार्कीले प्राप्त गर्न सफल भए । उत्कृष्ट छायांकारको अवार्ड गोपी खिच्ने शैलेन्द्र डी कार्कीले जिते ।
कार्यक्रममा नेपाली सर्ट चलचित्रतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले पाएको थियो भने इन्टरनेसनल सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो । नेपाली सर्ट चलचित्रतर्फ प्रविण कुमार राउत निर्देशित ‘कलम’ उत्कृष्ट भयो भने यसै चलचित्रबाट प्रविण उत्कृष्ट निर्देशक बने । सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले पाएको थियो ।
अन्तरराष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतिय चलचित्र ‘नुरी’ उत्कृष्ट भएको छ । चलचित्रमा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारको राशी ५ सय अमेरिकी डलर छ ।
समारोहको सबैभन्दा ठुलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पाएको थियो ।
यस फेस्टिभललाई नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको हो ।
प्रतिक्रिया