कार दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनाली खतरामुक्त
काठमाडौं । बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली खतरामुक्त रहेको काठमाडौंस्थित ग्राण्डी अस्पतालले जानकारी दिएको छ ।
महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
‘उहाँ खतरामुक्त हुनुहुन्छ, हिजो नै हामीले उहाँको ‘थाई बोन’को अपरेसन गर्यौं ,’ अस्पतालका निर्देशका चक्रराज पाण्डेले भने, ‘उहाँको बुहारीको खुट्टाको अपरेसन र चालकको नाकको हड्डी भाँचिएकाले उपचार गरिएको छ ।’
झापाबाट काठमाडौं आउन लागेका मैनाली सवार बा. ७च २१३० नम्बरको कारलाई ना.४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा ठक्कर दिएको थियो।
दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए । अहिले सबै जनाको अवस्था सामान्य रहेको जानकारीमा आएको छ ।
प्रतिक्रिया