पत्रकारहरुले नेताहरुको गलत कृयाकलाप लुकाउनु जरुरी छैन : अष्टलक्ष्मी शाक्य
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थाई कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी निकट पत्रकारहरुले नेताहरुको गलत कृयाकलाप लुकाउनु जरुरी नभएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बागमति प्रदेश संगठन कमिटी प्रचार तथा प्रकाशन विभागको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बागमति प्रदेश इन्चार्ज शाक्यले विकास र समृद्धिको लागि नेकपाका नेता कार्यकर्ताहरुमा परिर्वतन आवश्यक रहेको बताउनु भयो । नेकपा स्थाई कमिटी सदस्य शाक्यले भन्नुभयो - "आलोचना गर्दा सुझाब सहितको आलोचना हुनुपर्छ ।"
त्यस्तै नेकपा बागमति प्रदेशका सह इन्चार्ज काशिनाथ अधिकारीले कम्युनिष्ट पार्टीलाई अहिलेको अवस्थामा ल्याउन नेताहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । हाम्रो पार्टीका नेताहरुको धेरै कमि कमजोरी छन्, जसको सुधार गर्नु आवश्यक छ तर नेकपालाई अहिलेको अवस्थामा ल्याउन जुन भूमिका खेल्नु भएको छ त्यसको लागि मनै देखि सलाम गर्न मन लाग्छ सहइन्चार्ज अधिकारीले भन्नु भयो ।
प्रदेश कमिटी अध्यक्ष नारायण दहालले अहिले नेकपा सरकारमा रहेकोले स्वभाविक रुपमा जनताको धेरै अपेक्षा हुने र त्यो अपेक्षा पुरा हुन नसक्दा जनतामा वितृष्णा जाग्न सक्ने उल्लेख गर्नुहुदै त्यस्तो बेला पार्टी निकट पत्रकारहरुले सत्य तथ्य सुचना जनतासम्म पु¥याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश कमिटी सचिव आनन्दप्रसाद पोखरेलले प्रदेशको प्रचार विभागले गर्ने काम लगायतको विषयमा जानकारी गराउनु भएको थियो । सो अवसरमा सचिव पोखरेलले पार्टी र पार्टीले नेतृत्व गरेको सरकारको कामको बारेमा आम मानिसलाई जानकारी गराउने मुख्य भुमिका पत्रकारहरुकै हुने भएकोले पार्टी प्रचार विभागका सदस्यहरुले आफु र मातहतका मिडियाहरुमा प्रचार अभियानलाई तिब्रताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख सागर नेपालको सभापतित्वमा सम्पन्न सपथग्रहण पछिको बैठकले सचिवमा सिन्धुलीका ध्रुब घिमिरेलाई चयन गरेको छ । त्यसैगरी बैठकले बागमति प्रदेश भित्रका जिल्ला प्रचार विभागको प्रमुख तथा सचिवहरुको भेला गर्ने, बैशाखमा बुलेटिन प्रकाशन गर्ने, पार्टी तथा सरकारसंग अन्तरकृया गर्ने लगायतका निर्णय गरेको छ ।
प्रतिक्रिया