नयाँ मन्त्रिमण्डलमा को–को अट्लान ? गृहमा पुनः जनार्दन दोहोरिन संभावना
काठमाडौं । प्रतिनिधि सभा, प्रदेश सभा तथा समानुपातिकको अन्तिम मतपरिणाम आउँदै गर्दा एमाले र माओवादी केन्द्रले सरकार गठनको गृहकार्य सुरु गरिसकेका छन् । अबको नयाँ प्रधानमन्त्री एमालेका अध्यक्ष केपी ओली बन्ने लगभग पक्का सरह छ ।
ओली प्रधानमन्त्री बन्नेवित्तिकै एमाले र माओवादीका नेताहरूलाई राखेर तत्कालका लागि सानो आकारको मन्त्रिमण्डल विस्तार हुनेछ । पुसको दोस्रो हप्तासम्म ओलीको नेतृत्वमा सरकार बन्ने एमालेका सचिव प्रदीप ज्ञवालीले बताए ।
उनले भने,‘केपी ओली प्रधानमन्त्री बन्नु हुनेछ । त्यो मन्त्रिमण्डलमा दुबै दलका थोरै नेताहरू मन्त्री बन्ने छन् । त्यसपछि केहीदिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउनेछ ।’ सरकारमा सहभागी हुन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राजपा नेपाललाई पनि पार्टीभित्रबाट दवाव सुरु भइसकेको छ । राजपा नेपालका नेता राजेन्द्र महतो समूह बाम गठबन्धनसँग मिलेर सरकारमा जानुपर्ने भनेर लविङ सुरु गरेका छन् ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव भने खुट्टा उचालेर क्याबिनेटमा जान तयारी अवस्थामा पुगेका छन् । यादवले एमालेले वार्ताका लागि बोलाउनेवित्तिकै वार्ता गर्ने भनेर पार्टीभित्र आन्तरिक परामर्श गरेको एक नेताले बताए । संवैधानिक व्यवस्थाअनुसार अबको मन्त्रिपरिषद २५ सदस्यीय मात्रै बनाउन पाइनेछ । २५ जनाभन्दा एकजना पनि धेरै मन्त्री बनाउन पाइने छैन ।
यो बाध्यात्मक अवस्थामा ओलीले धेरै दलहरूलाई समेट्ने अवस्था पनि रहने छैन । मन्त्रिमण्डल पनि एमाले र माओवादीले ६०–४० अनुसार नै भागबण्डा लगाउनुपर्ने बाध्यात्मक सहमति छ । स्रोतका अनुसार ओलीको नयाँ मन्त्रिमण्डलमा सबैभन्दा पावरफुल मानिने गृह, अर्थ, भौतिक, परराष्ट्र जस्ता मन्त्रालय मिलाएर लिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले अर्थ र भौतिक तथा परराष्ट्र मन्त्रालय आफूले राख्ने तयारी गरेका छन् । गृह, उर्जासहितका मन्त्रालय माओवादीलाई दिने तयारीमा ओली रहेको स्रोतको भनाई छ ।
गृहमन्त्रालय माओवादीले पायो भने वर्षमान पुनले सो मन्त्रालय दाबी गर्नेछन् । यसअघि अवसर पाइसकेका कृष्णबहादुर महरा, गिरिराज पोखरेलसहितका नेताहरू अबको मन्त्रिमण्डलमा पर्ने सम्भावना न्यून छ । अर्थ मन्त्रालयको जिम्मेवारी एमालेका विष्णु पौडेलले दाबी गर्न सुरु गरिसकेका छन् । तर, गृहका लागि जनार्दन शर्मा नै पछिल्लो समयमा प्रवल दावेदार बनेका छन् ।
वाम गठबन्धन हुँदा महरा र पुनले भित्रभित्रै विरोध गरी कांग्रेससँगको सहकार्य तोड्न नहुने बताएका थिए भने शर्माले एकोहोरो रुपमा प्रचण्डलाई सहयोग गरेका थिए । सोही कारण ओली र प्रचण्डको रोजाइमा पुनः गृह मन्त्रालयमा शर्माले नै दोहो-याउने संभावना छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।
प्रतिक्रिया