भक्तपुर विकास गर्ने जिम्मा सांसद बस्नेतको : भौतिक पूर्वाधार मन्त्री नेम्वाङ्ग
भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
संघीय सरकारको रु. चार करोड ५० लाख रुपैयाको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको आज अनुगमन एवं उद्घाटन गर्दै मन्त्री नेम्वाङ्गले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्रीले देखेको देश विकासको सपना हामी सबैले पुरा गर्छौ भन्दै यसका लागि गाउँ गाउँबाट सबैको सहयोग र साथको आवश्यक रहेको बताउनुभयो ।
देशको विकास गर्ने जिम्मेवारी सरकारले पुरा गर्ने बताउदै मन्त्री नेम्वाङ्गले भन्नुभयो—“देशको विकासको जिम्मेवारी सरकारले पुरा गर्नेछ, भक्तपुरको विकास गर्ने जिम्मेवारी महेश बस्नेतले पुरा गर्नु हुनेछ, मैले त उहाँको अभियानमा इँटा थप्ने मात्रै हो, सहयोग गर्ने मात्रै हो, तपाईको जिल्लाले होनाहार नेता पाएको छ, भक्तपुर विकास हुन्छ, ढुक्क हुनुहोस् ।”
जडिबुटी कोटेश्वर नाकामा दैनिक हुने जामलाई हटाउन चार लेन अस्थायी सडक निर्माण गर्न ठेक्का गरिसकेको बताउदै मन्त्री नेम्वाङ्गले भन्नुभयो—“कोटेश्वरमा स्थायी रुपमा एयरपोर्टबाट अन्डरपास निकालेर जडिबुटी जोड्नु पर्छ, त्यसका प्रारम्भिक काम सुरु भएको छ, जाईकाले अध्ययन सुरु गरेको छ, तीनवर्षमा यो काम सक्ने लक्ष्य लिएका छौ ।”
कार्यक्रममा संघीय सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले चाँगुनारायणको प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान सुरु भएको बताउदै अबको तीनवर्षमा चाँगुनारायण बिश्व कै उत्कृष्ट शहर बन्ने दाबी गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सडकमा विकासको क्रान्त्री आएको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरकोट सडकले अन्तर्राष्ट्रिय बेईजत भएको भन्दै ठेक्का रद्ध गर्न माग गर्नुभयो ।
प्रतिक्रिया