भोलीदेखि सुरू हुने एसइईको सम्पूर्ण तयारी पूरा, प्रत्येक परीक्षाकेन्द्रमा हेल्थ डेस्क अनिवार्य

exam_board_6TI8dxUqDY

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा चैत ६ गते (भोली) देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्ष देशभर १ हजार ९ सय ९५ परीक्षाकेन्द्र र ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परीक्षामा प्राविधिकतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुने खकुरेलले बताए ।

परीक्षा सञ्चालनका लागि प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।

बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजीक रहेको सुरक्षा निकायमा पुर्‍याइएको छ । कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए । परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले निकै सतर्कता अपनाइएको मन्त्री पोखरेलको भनाइ छ ।

परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित