वीन वीन नेटवर्किङको धन्दामा पूर्व लडाकु, करोडौ ठगी

Win-Win-Networkingकाठमाडौं । वीन वीन ट्रेड मार्ट प्रालिमार्फत नेटवर्किङको ठूलो जालो चलाउँदै आएको कान्तिपुर ओभरसिजका सञ्चालक यमराज तामाङसहितको समूहले राजधानीसहित मुलुकका विभिन्न स्थानमा गुण्डा पालेर राखेको रहस्य खुलेको छ । तिनै गुन्डामार्फत तामाङसहितको समूहले नेटवर्किङबाट अलग हुन खोज्ने व्यक्तिलाई धम्की दिएर ठगी धन्दामा लगाइ राखेको खुलासा भएको हो ।अघिल्लो अंकमा यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेपछि त्रसित बनेको वीन वीन ट्रेड मार्ट प्रालिमा आबद्ध समूहले अहिले आफ्नो मोबाइल अफ गरेर राख्नुका साथै नेटवर्किङका विषयमा खुलेर कुरा गर्न मानेका छैनन् । उता, महानगरीय प्रहरी परिसरले वीन वीन नेटवर्किङमा संलग्नहरूलाई निगरानीमा राख्न थालेको छ । प्रहरी स्रोतका अनुसार भरपर्दो प्रमाण फेलापार्नासाथ वीन वीनमा संलग्न दोषीहरूलाई युनिटीका सञ्चालकलाई जस्तै गरी पक्राउ गरेर कारबाही थालिने प्रहरीले जनाएको छ । लाखौं सर्वसाधारणको पैसा वीन वीन मार्ट प्रालि को नामबाट नेटवर्किङमार्फत झ्वाम पारेपछि अहिले यमराज तामाङसहितको समूह लुकेर हिँड्न बाध्य भएको छ । तामाङ वीन वीन मार्ट प्रालिको कार्यकारी अधिकृत (सीइओ) हुन् ।

  स्रोतका अनुसार तामाङले साधारण सदस्यसँग खासै भेट्न मान्दैनन् । वीन वीनको सदस्य बनाउने ‘एमआरक्यू’हरूसँग मात्रै भेट्ने गरेका छन् । वीन वीन नेटवर्किङको कार्यालय भारतको बनारसमा खोलिएको छ । सबै आर्थिक कारोबार त्यहीबाट हुने गरेको छ । आफू ठगिएको थाहा पाएपछि सर्वसाधारणहरूले पैसा फिर्ता माग्न थालेका छन् । तर, तामाङको समूहले गुण्डा लगाएर नेटवर्किङ छाड्नै नदिएको एक पीडितले बताए । ‘वीन वीन नेटवर्किङ छाड्छु भन्दा पनि पैसा फिर्ता दिँदैनन’, ती पीडितले भने–‘आजकाल त पैसा माग्दा गुन्डाहरूले फोन गरेर ज्यान लिने धम्की दिने गरेका छन् ।’ वीन वीन नेटवर्किङमा धेरै जसो पूर्व माओवादी लडाकुहरू संलग्न छन् ।

  वीन वीनका सदस्यहरूविरुद्ध समाचार प्रकाशित भएपछि प्रहरीले नेटवर्किङ व्यवसाय चलाउनेहरूविरुद्ध निगरानी सुरू गरेपछि तामाङसहितको समूह लुकेर हिँड्न बाध्य भएको हो । सात दिनको ट्रेनिङ, सुरुको दिनमा दश हजार लिनुका साथै लाखौं, करोडौंका सपना देखाएर सुरु हुने वीन वीनको ठगी धन्दामा करिव तीन लाख नेपाली संलग्न छन् । वीन वीन नेटवर्किङलाई संरक्षण गर्नका लागि सिइओ यमराज तामाङसहितको समूहले नेपालमा राजनीतिक दल दर्ता गरेर राजनीति गर्ने तयारी समेत गरेको छ । स्रोतका अनुसार यमराज तामाङले राजनीतिक दल दर्ताको लागि पहल थाल्न जिम्मेवारी दिइसकेका छन् । यो समूहले नेपालमा ठगी गरेर जम्मा गरेको पैसा भारतमा राख्ने गरेको छ । पाँच वर्षको टारगेट राख्ने वीन वीन नेटवर्कको समूहले सुरूमा सदस्यहरूसँग दुई लाख भारतीय रुपियाँ लिने गरेको छ । यसरी उठाइएको रकम १४ अर्बभन्दा बढी रहेको अनुमान छ । यूनिटीबाट लाखौँ सर्वसाधारणको पैसा डुबेपछि प्रहरीले नेटवर्किङमा ठगी गर्नेहरूलाई खोजी खोजी कारबाही गरेको थियो । तर, यूनिटीलाई समेत मात खुवाउने गरी वीन वीनले धन्दा चलाइरहेको छ । सीइओ तामाङलाई खोटाङका हरिशचन्द्र राई (एमआरक्यू), सिन्धुपाल्चोकका सुदर्शन थापा (कलाकार), उदयपुर जिल्ला घर भएका पूर्व जनमुक्ति सेना नेपालका कम्पनी कमाण्डर काशिराम माझी, फेन्सी स्टोर सञ्चालन गर्दै आएकी उदयपुरकी सरस्वती माझी, दाङ तुलसीपुरका नारायण भण्डारीले पनि भरपूर सहयोग गर्दै आएका छन् । भण्डारीले ‘समर’ नाम राखेर ठगी धन्दा चलाउँदै आएका छन् ।

  रुपन्देही जिल्लामा यज्ञ आचार्यको हत्या अभियोगमा सजाय भोगी सकेका सागर बन्दीले वीन वीन जस्तै अर्को स्वास्थ्य सम्बन्धी नेटवर्किङ चलाउने तयारी गरेका छन् । वीन वीनबाट ठगी गरेर करोडौं कमाइ गरेका सागरले आफ्नो ठगी धन्दा बुटवल, पाल्पामा सक्रिय बनाएका छन् । चितवनका गौतम गुरुङ, गोर्खाका राज मगर र राम मगर, धादिङ घर भएका ‘लाल सलाम’ फिल्ममा खेलेका ज्ञानेन्द्र मगर, सुनवल नवलपरासीका राजकमुार विक, दोलखाका राज श्रेष्ठ, दाङ देउखुरीका नरेश चौधरी अहिले पनि नेटवर्किङको ठगी धन्दामा ज्यान फालेर लागेका छन् । चितवनका अनुप तामाङ, गोर्खाका काजी गुरुङ, रोल्पाकाका पूर्व जनमुक्ति सेना प्रवीण रोका, गोर्खा घर भइ ठमेलमा व्यवसाय गर्दै आएका पर्शुराम भट्ट, चितवन बस्दै आएका रोमी शाही ठकुरी, कपिलवस्तुका युवराज उपाध्यायले पनि नेटवर्किङको ठगी धन्दा चलाउँदै आएका छन् । नेटवर्किङबाट ठगी गरेको पैसाले युवराज उपाध्यायले भारतमा राशन कार्ड लिएर बनरसमा घरसमेत बनाइ सकेका छन् ।यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित