सुन तस्करी र सनम हत्या काण्ड :पूर्व आईजीपी अर्याल पनि तानिँदै, सेटिङ मिलाउन उपेन्द्रकान्त सक्रिय

upendra, dibesh and prakash

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा गृह मन्त्रालयको छानविन समितीले पूर्व आईजीपी प्रकाश अर्यालसंग पनि बयान लिने भएको छ । बयानका लागि उनलाई समितिमा बोलाइने स्रोतले बतायो । स्रोतका अनुसार अाईतबार अपराध महाशाखाका पुर्व प्रमुख एसएसपी दिबेश लोहनीको बयान लिए लगत्तै समितीले अर्यालसंग बयान लिन लागेको हो ।

लोहनीले आफ्नो मातहतका प्रमुख पुर्व एआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन आईजीपी प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पठाएका थिए । अर्यालको सुन तस्कर चुडामणी उप्रेती 'गोरे'सँग पटक- पटक फोनमा कनेक्सन भएको प्रमाण समितीले फेला पारेको छ ।

अर्यालकै सूचनाका आधारमा महाशाखाको टोलीले मोरङ पुगेर शाक्यको शव बरामद गरेको थियो। जसले गर्दा अर्याल पनि शंकाको घेरामा परेका हुन । एसएसपी लोहनीले सुरुमा समिती समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए । महाशाखाले कार्यक्षेत्र नाघेर अनुसन्धानमा चलखेल गरेको थियो ।

महाशाखाबाट विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गर्‍यो। तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद र ठुलो आर्थिक चलखेलका रुपमा हेरिएको छ ।

गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो । मुख्य तस्कर गोरे उपनाममा चुडामणि उप्रती फरार छन्। प्रहरीले नै गोरे भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ।

समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी गोबिन्द निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो । खत्री फरार छन् भने हत्या र तस्करीमा संलग्न नरहेका तर गोरेसँग फोन कनेक्सन रहेको आधारमा निरौला र खनाल अहिले मोरङ प्रहरीको हिरासतमा छन्।

घटनाका मुख्य पात्र महाशाखाका सई बालकृष्ण सन्जेल र डिएसपी सञ्जय राउत पनि थुनामा छन् । त्यस्तै, समितीमा हिजो बयान दिएर मोरङ प्रहरीमा पठाइएका महाशाखाका डिएसपी प्रजित केसी पनि मोरङ प्रहरीको निगरानीमा बयान दिइरहेका छन्। उनी पनि अाजबाट थुनामा जांदै छन् ।

अर्का अर्यालको चलखेल 
सुन काण्डमा मुछिएका प्रकाश प्रकाश अर्याल र दिबेश लोहनीलाई कारबाहीबाट जोगाउन पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विजयलाल कायस्थ, दिपक मल्होत्रालगायतका विवादास्पद व्यापारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ सम्म ठूलो रकमको चलखेल गरेका छन् । तर, यो प्रकरणमा प्रधानमन्त्री ओलीले विशेष चासो राखेका कारण अर्याल समुहको खेल सफल नहुने देखिएको छ । प्रकाश अर्याल फसेको खण्डमा आफुहरु पनि तानिने हुँदा यो समुहले उच्च तहमा निरन्तर सम्पर्क बढाइ चलखेल गरेको स्रोत वताउँछ। यही समुहले नै एसएस्पी श्याम खत्रीलाई भगाएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित