गृहमन्त्रीको गृह प्रशासन सुधार योजना : ठमेल, दरवारमार्ग, पोखराको लेकसाईड २४ घण्टा खुल्ला रहने
काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले‘ गृह प्रशासन सुधार मार्गचित्र २०७४’ सार्वजनिक गरेका छन् । गृहमन्त्री शर्माले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको लागि आवश्यक पर्ने जनशक्तिको नियुक्ति, बढुवा, क्षमता बिकास र सरुवाका लागि क्यालेण्डर र निश्चित मापदण्ड बनाउने योजना ल्याएका छन् ।
वढुवामा स्पष्ट नीति वनाई पद खाली भएको एक महिना भित्र वढुवाको प्रक्रिया अगाडी वढाउने र सेवा अवधि विवादको अन्त गरिने उनको योजनामा उल्लेख छ ।
गृहमन्त्री शर्माले प्रहरी जवान र प्रहरी हवल्दारको बिचमा (सहायक हवल्दार), प्रहरी नायव निरीक्षक र प्रहरी निरिक्षकको बिचमा (प्रहरी बरिष्ठ नायव निरीक्षक) पद सृजना गर्ने बताए । प्रहरी उपरिक्षक (एसपी) भन्दा माथि वढुवा हुनका लागि निश्चित पाठ्क्रममा आधारित सुरक्षा कोर्ष पास गर्नु पर्ने गरी कानुनी व्यवस्था गरिने पनि उनले बताए । संगठन प्रमुख, विभागिय प्रमुख, महाशाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, मातहत ईकाई प्रमुखहरुसँग कार्यसम्पादन करार गर्ने गृहमन्त्रीको घोषणा छ ।
संगठनमा गुटबन्दी र मिडियाबाजी गर्नेलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन् । ट्राफिकले पाउदै आएको जरिवानाको १५ प्रतिशत भत्ता बन्द गरी प्रोत्साहन भत्ता दिइने उनले बताए । त्यस्तै सशस्त्र प्रहरीलाई स्पष्ट कार्यादेश दिएर थप सशत्त बनाइने उनको भनाई छ । राष्ट्रिय अनुसन्धान विभागलाई नवसंगठनका रुपमा अगाडि बढाइने गृहमन्त्रीको कार्ययोजनामा छ । ठमेल, दरवारमार्ग, पोखराको लेक साईड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाईने कार्ययोजनामा छ ।
प्रतिक्रिया