झापामा कांग्रेस र फूलबारीमा एमालेले पैसा बाँड्दा स्थिति तनावग्रस्त

काठमाडौं झापा गाउँपालिकाको वडा नं. १ मा कांग्रेसमाथि पैसा बाँडेको आरोप लागेको छ भने नेकपा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै अन्य दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि धनगढी उपमहानगरको फूलबारीमा रातभर तनाव भयो । झापामा सोमबार राति ११ बजे कांग्रेस कार्यकर्ता मोहमद अलि हुसेनले मतदातालाई प्रलोभनमा पार्न रकम बाँडेको भेटिएको भन्दै एमाले, माओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको आरोप छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेका थिए । तर, सशस्त्र प्रहरीले जोगाएर राति नै धनगढी पठाएको थियो । तर, एमाले उम्मेदवार जोशीलाई खानतलासी नगरेरै छोडेको भन्दै कांग्रेस र माओवादीका कार्यकर्ताले राति २ बजेसम्म सशस्त्र प्रहरी बलको अस्थायी बेसक्याम्प घेराउ गरेका थिए ।एमाले उम्मेदवार जोशीले मौन अबधिमा निर्बाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस र माओवादीको आरोप छ । यता, झापाको दक्षिणी क्षेत्रमा रहेको पुरानो सदरमुकाम झापा गाउँपालिका मौन अवधिको समयमा तनावग्रस्त भएको छ ।सोमबार बेलुकी ८ बजे र्इदको शुभकामना दिन भन्दै भोट माग्न कांग्रेस उम्मेदवार जयनारायण शाह निस्किएपछि एमाले–कांग्रेसबीच घम्साघम्सी भएको थियो । प्रहरी प्रशासनले त्यहाँको विवाद साम्य पारेर सबैलाई घर पठाएपछि स्थिति सामान्य बनेको थियो । तर, दुई जना एमाले कार्यकर्ता बिनोद तामाङ र डम्बर रार्इ घर फर्किदै गर्दा कांग्रेस समर्थकले उनीहरूमाथि कुटपिट गरेको एमालेले दाबी गरेको छ । प्रहरीका अनुसार उनीहरुको सुरुङ्गास्थित मेरी गोल्ड हस्पिटलमा उपचार भइरहेको छ । झडपको क्रममा प्रहरीमाथि हातपात गर्ने एमाले कार्यकर्ता श्याम दर्नाल पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित