एमालेका त्रिमूर्तिले ओलीको ‘सातो’ लिने

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद केही समयदेखि बाहिर नदेखिएको जस्तो भए पनि विष्फोट हुने अवस्थामा पुगेको छ । अध्यक्ष केपी ओलीको कठोर व्यवहार र एकलकाटे शैलीका कारण एमालेभित्र ठूलो अनिष्ट हुने संकेत देखिएको छ ।

 वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतम अर्थात ‘त्रिमूर्ति’लाई सौतेनी व्यवहार गर्दै आएका ओलीलाई असार १४ गतेपछि ठूलै झट्का लाग्ने भएको छ ।

 नेपाल, खनाल र गौतमले ओलीसँग बदला लिने तयारीमा पुगेका छन् । विशेष गरेर आफ्ना गुटका नेताहरूलाई टिकट वितरण गरेपछि ओलीको विरोध भएको हो । ओलीले महानगर, उपमहानगर र नगरपालिका तथा अधिकांश गाउँपालिकाहरूमा आफू निकटकालाई मात्रै टिकट दिएका छन् । नेपाल, खनाल र गौतम समूह यसपटक ओलीलाई राम्रै सबक सिकाउने पक्षमा देखिएका छन् । आवश्यक परे पार्टीका उम्मेदवारहरूलाई हराउन पनि पछि नपर्ने अवस्थामा उनीहरू पुगेको स्रोतको भनाई छ । नेता नेपाल, खनाल र गौतम ओलीले पार्टी कब्जा गर्न जति नै षड्यन्त्र गरे पनि आफूहरू उम्मेदवार हराउने पक्षमा नरहेको सन्देश पार्टी मुख्यालय धुम्रबाराहीमा पठाएका छन् । ‘ओली जस्तो राजनीतिक बेइमान हामी होइनौँ’, नेता नेपालले आफ्नो गुटको भेलामा भन्ने गरेका छन् ।

 उनले एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने जो कोहीलाई जिताउनु पर्ने बताउँदै आएका छन् । तर, ओलीको हेपाह प्रवृत्तिको भने नेता नेपाल, खनाल र गौतमले विरोध गर्दै आएका छन् । एकलकाटे व्यवहारका कारण गौतमले ओलीको गुट परित्याग गरिसकेका छन् । अहिले ओलीलाई ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठसहितका नेताहरूले काँध थाप्ने गरेका छन् । कुनै बेला एमालेमा रहेका र नेताहरूको पेलानमा परेर पार्टी छाडेका मधेसी नेताहरू पुनः एमालेमा प्रवेश गर्न थालेका छन् । उनीहरूलाई पार्टीमा भित्र्याउन वरिष्ठ नेता नेपालको पनि ठूलो भूमिका छ ।

 तर, ओलीले मधेसी नेताहरूलाई ‘मैले मात्रै ल्याएको हुँ’ भनेर गुटको बैठकमा भन्ने गरेका छन् । यो कुरा थाहा पाएपछि नेपाल, खनाल र गौतमले औपचारिक रुपमा विरोध जनाई सकेका छन् । अहिले स्थानीय तहको दोस्रो चरणको निर्वाचन चलिरहेकाले पार्टीभित्रको विवाद किन बाहिर ल्याउने भनेर नेपाल, खनाल र गौतम समूह चुपचाप लागेर चुनावी प्रचार प्रसारमा लागेको छ । एमालेका नेताहरू जो ओली गुटका होइनन् उनीहरूलाई ओली समूहले छानीछानी पाखा लगाउने अभियानमा लागेको छ । आफू निकटका सञ्चारमाध्यमहरूमा ओली समूहले नेपाल, खनाल र गौतम समूहको तेजोबध गरिरहेका छ । यो कुरा चाल पाएपछि नेपाल, खनाल र गौतम समूहले पनि ओली समूहलाई खुइल्याउन थालेको स्रोतको भनाइ छ ।-यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित