विप्लवद्वारा कडा चेतावनीसहित कार्यक्रम घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन विथाल्न नेपाल बन्दको आह्वान गरेको छ ।

नेकपाका युवा नेता तिलक मल्ल ‘क्षितिज’का अनुसार स्थानीय तहको निर्वाचनबाट नेपाली जनताले राजनीतिक, सामाजिक र आर्थिक मुक्ति नपाउने भएकाले ‘नेकपा’ले नेपाल बन्दको आह्वान गरेको बताए । उनले भने, ‘वैशाख ३० गते नेपाल बन्द आह्वान गरिएको छ । नेपाली जनताले हामीलाई साथ दिने छन् । यो चुनावको कुनै अर्थ छैन ।’

विभिन्न जिल्लामा स्थानीय तहको निर्वाचन विथोलेको अभियोगमा ‘नेकपा’का नेता तथा कार्यकर्ता धमाधम पक्राउ परेकोमा आक्रोशित बनेका युवा नेता मल्लले भने, ‘पक्राउ परेका हाम्रा नेता तथा कार्यकर्ता विनासर्त रिहाइ गरिनुपर्छ । होइन भने त्यसका विरुद्ध अझै सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।’

‘संसदीय व्यवस्था फेल भइसकेकोले यसलाई सृदृढ गर्नुको औचित्य छैन । अब वैज्ञानिक समाजवादी व्यवस्था अहिलेको विकल्पको रुपमा छ । यसले नै सुशासन, समृद्धि र नेपाली जनताको स्वाधीनताको रक्षा गर्न सक्छ’, मल्लले भने ।

स्थानीय तहको निर्वाचन विथाल्न भन्दै विभिन्न प्रचारात्मक कार्यक्रम गरिरहेको ‘विप्लव’ नेतृत्वको ‘नेकपा’का नेता तथा कार्यकर्ताबाट चुनावलाई खतरा रहेको भन्दै प्रहरी प्रशासनले उच्च निगरानी गर्दै आएको छ ।‘नेकपा’का कार्यकर्ताले उम्मेदवारहरूमाथि पेट्रोल बम प्रहार गर्ने, भौतिक आक्रमण गर्ने, अपहरण, निर्वाचन सामग्री  कब्जा गर्नेलगायतका क्रियाकलाप गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित