काठमाडौं । उपप्रधान एवम् स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका राप्रपाका अध्यक्ष कमल थापाले एमालेसँग अलि धेरै हिमचिम बढाएको खुलासा भएको छ । एमाले नेतृत्वको सरकारका बेला केपी ओलीको विश्वास जितेका कमल थापाले अहिले पनि सरकारका गम्भीर सूचनाहरू बालकोटतिर पुगाउने गरेको आरोप छ । स्रोतका अनुसार थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर एमाले, माओवादी केन्द्र र राप्रपाको शक्तिशाली सरकार बनाउने योजना बालकोटलाई सुनाएका थिए । तर, ओलीले थापाको योजनाप्रति खासै चित्त बुझाउन सकेनन् । ‘थापाले सरकारविरुद्धका गोप्य सूचना ल्याएर केपी ओलीलाई बिफिङ गर्छन्’, एमालेकै एक नेताले भने–‘तर हामी केपी ओली पार्टीमा बलियो भएको हेर्न चाहँदैनौँ ।’अहिले पनि थापाले सरकारसँग भन्दा पनि एमालेप्रति बफादारिता देखाउने गरेको उनको क्रियाकलापबाट प्रष्ट हुन्छ । सरकारको बचाउ गर्नुभन्दा पनि थापाले एमालेको पक्षमा अभिव्यक्ति दिने गरेका छन् । थापाको दुई नीति कुरा थाहा पाएका प्रधानमन्त्री प्रचण्ड पनि दिक्क भएका छन् । स्रोतले प्रचण्डलाई उदृत गर्दै भन्यो–‘कमल थापा छेपारे प्रवृत्तिको व्यक्ति हुन्, उनलाई विश्वास गर्नु हुँदैन । मधेसी मोर्चाका कारण बाध्य भएर साथ लिनु परेको छ । थापा ओलीका खास मान्छे हुन् ।’यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया