दुई चरणमा चुनाव गर्न एमालेको दुई शर्त

काठमाडौं : सरकारले मधेशी मोर्चालाई पनि निर्वाचनमा ल्याउनका लागि भन्दै दुई चरणमा निर्वाचन गराउने निर्णय गरे लगत्तै प्रमुख विपक्षी नेकपा एमालेले दुई शर्तमा मात्र दुई चरणमा निर्वाचन गराउन सकिने निष्कर्ष निकालेको छ । एमालेले मधेसी मोर्चा चुनावमा आउने ग्यारेन्टी र बजेटअघि नै दोस्रो चरणको चुनाव गराउने अवस्थामा मात्र दुई चरणको चुनाव गर्न सकिने बताएको हो । साथै संविधान संशोधन विधेयक ल्याए संसदको प्रक्रिया अवरुद्ध नगर्ने तर, बिधेयक असफल पार्ने निर्णय गरेको छ । तर, सरकारले भने एमालेको सहमतिमा नै निर्वाचनको मिति तोकिएको बताएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले मधेसी मोर्चालाई देखाएर सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले भने‘–मधेसी मोर्चाले दोस्रो चरणमा पनि चुनावमा भाग लिने ग्यारेन्टी गरेको छैन । उनीहरुले संविधान संशोधन गरेमात्र चुनावमा आउने भनेका छन् । अनेक बहाना बनाएर चुनाव टार्ने खेल शुरु भएको, चुनाव वैशाख ३१ मै हुनुपर्छ ।’ सरकारले जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्ने घोषणा गरिसकेको छ भने जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । यता, सरकारले संविधान संशोधन बिधेयक संसदमा टेबल गर्नुअघि नै एमालेले त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।स्थानीय तह र जनप्रतिनिधिका अधिकार खोस्ने गरी ल्याइएको बिधेयक सम्पूर्ण शक्ति लगाएर असफल पार्ने निर्णय बैठकले गरेको हो । तर, एमालेले संसदको प्रक्रियामा भने अवरोध नगर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित