क्याबिनेट रोकेर किन ओली निवास पुगे प्रचण्ड ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल ओलीसँग भेट गर्न आफैँ ओली निवास पुगेका थिए। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली निवास पुगेका हुन्। प्रधानमन्त्री दाहालले भेटमा मधेसवादी दलहरुसँग हालै सरकारले गरेको समझदारीबारे ओलीलाई जानकारी गराएका थिए। भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि एमालेको सहयोगी भूमिकाको अपेक्षा गरेका थिए। दुई चरणमा गर्ने भनिएको निर्वाचनका विषयमा दुवै नेताहरुबीच छलफल भएको छ। अध्यक्ष ओलीले दुई चरणको निर्वाचनका लागि आपत्ति नभएको भन्दै मतदाता प्रभावित पार्ने, निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी बजेटभन्दा पछाडि निर्वाचन मिति नसार्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए। प्रधानमन्त्री दाहाल पूर्वनिर्धारित क्याबिनेट बैठक केहीबेरका लागि रोकेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास बालकोटतिर पुगेका हुन् । प्रधानमन्त्रीले विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा जुटिसकेको अवस्थामा दाहाल क्याबिनेट रोकेर ओली निवास पुगेका हुन् ।
प्रतिक्रिया