ओलीले ‘रअ’ का प्रमुख भेट्दा नेपालले घरमै बोलाए राजदूतलाई

kpoliकाठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत मनजिभ सिंह पुरीले गोप्य भेटवार्ता गरेपछि एमालेभित्रै तरंग मच्चिएको छ ।

 नेपालको कोटेश्वरस्थित नेपाल निवासमा तीन दिन अगाडि राति गोप्य वार्ता भएको स्रोतको भनाइ छ । एमाले र भारतबीच सम्बन्ध विग्रिएका बेला भारतीय राजदूत पुरीले नेता नेपालसँग झण्डै एक घण्टा लामो वार्ता गरेका हुन् । वार्ताका क्रममा अहिलेको सरकारलाई भन्दा एमालेको नेतृत्वमा बन्ने सरकार भारतका लागि उपयुक्त हुने आश्वासन पुरीलाई दिएको स्रोतको भनाई छ ।

 नेता नेपालका कुरा सुनेपछि राजदूत पुरीले आफू एउटा पार्टीसँग भन्दा पनि नेपाल र भारतसँगको सम्बन्धलाई सुधार गरेर लैजाने पक्षमा रहेको बताएका थिए । एमालेसँगको विग्रिएको सम्बन्ध सुधारको प्रयासमा नेता नेपालले पुरीसँग गोप्य वार्ता गरेको बताइन्छ । केपी ओली देश बाहिर रहेका बेला नेता नेपालले भारतीय राजदूत पुरीलाई आफ्नै निवास कोटेश्वरमा राति बोलाएर गरिएको वार्तालाई ओली पक्षधर नेताहरूले गम्भीरताका साथ लिएका छन् । 

 भारतले अहिले पनि एमालेलाई विश्वास गर्न सकेको छैन । विशेष गरेर एमालेले राष्ट्रियताको नारा दिएर भारत विरोध गतिविधि गरेपछि भारतीय पक्ष रिसाएको छ । ओली र एमालेका प्रभावशाली नेताहरूले विग्रिएको सम्बन्ध सुधार गर्न पटक–पटक प्रयास गरे पनि अहिलेसम्म त्यसले सार्थकता पाउन सकेको छैन ।

 यता, भारतसँगको विग्रिएको सम्बन्ध सुधारका लागि विभिन्न प्रयास गरेका एमाले अध्यक्ष केपी ओलीले सिङ्गापुरको राजधानी बैंकक पुगेर भारतीय गुप्तचर संस्था ‘रअ’का उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् । स्रोतका अनुसार ओलीले चिनियाँ उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका छन् । नेपालमा ‘रअ’का उच्च अधिकारीसँग भेटवार्ता गर्नका लागि ओलीलाई ठूलो कुरा होइन । तर, ओलीसँगको भेटवार्ता र ती वार्तामा हुने कुराकानी बाहिर लिक हुने डरले ओलीले बैंकक पुगेर ‘रअ’का अधिकारीहरूसँग वार्ता गरेको स्रोतको दाबी छ । मृर्गौला र स्वास्थ्य परीक्षणका लागि भन्दै बैंकक पुगेका ओलीले उपचार गर्दै गरेको आफ्नो तस्बिर निजी सचिवालयमार्फत लिक गराएका छन् । देखाउनकै लागि उनले त्यो तस्बिर लिक गराए भनेर आरोप लगाउनेहरूले ओलीले भारतीय पक्षसँग विग्रिएको सम्बन्धलाई सुधारको प्रयास गरेको आक्षेप लगाएका छन् । अहिले पनि भारतीय संस्थापन पक्षसँग राम्रो सम्बन्ध रहेका ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीले खासै रुचाएको छैन । भाजपाले नरुचाएकै कारण ओलीले चरम आर्थिक नाकाबन्दी र सत्ताच्युत हुनु परेको थियो । बेलाबेला प्रदीप ज्ञवाली, अग्नि खरेलसहितका केही दूतहरूलाई नयाँदिल्ली पठाएर सम्बन्ध सुधारको प्रयास गरे पनि ओलीलाई भारतीय पक्षले विश्वास गरिहालेको छैन । ओली भारतसँगको विग्रिएको सम्बन्धलाई सुधार गरेर फेरि एक पटक प्रधानमन्त्री बन्ने योजनामा लागेको एमालेका एक नेताले बताए ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  

प्रतिक्रिया

सम्बन्धित