एमाले पहिलो पार्टी : ओली

kpनेपालगञ्ज : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युरो र डलरमा चल्ने तथा आफुलाई बुद्धिजिवी भन्नेहरु र द्वन्द्वको खेती र पसल चलाउनेहरुको कारणले पनि मुलुक अस्थिरता तिर धकेलिएको दावी गरेका छन् । एमाले बाँके प्रचार विभागले आइतबार बिहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा ओलीले भने–‘राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाको लागि आवाज उठाउँदा कसैको मन भत्भती पोल्छ भने हामीले के नै गर्न सक्छौं र ?’ राजनीतिको नाममा केही व्यक्तिको छुद्र स्वार्थ पुरा गर्न नसकिने पनि उनले बताएका छन् । ओलीले भने–‘राजनीतिको आडमा आफ्नो छुद्र स्वार्थ पुरा गर्नको लागि अराजनीतिक, हिंसात्मक, अराजक, अनुचित कार्य भएको छ । यस्तो कार्य राजनीतिमा कही कतै देख्न नपाइए पनि नेपालै हो, यहाँ जे पनि देख्न पाइन्छ । तर, एमाले जिम्मेवार पार्टी भएकोले चुप लागर बस्दैन ।’ ‘मधेसी मोर्चाले राजनीतिको नाममा अपराधिक गतिविधि सञ्चालन गर्दै लोकतन्त्रको उपहास गरेको छ । लोकतन्त्रमा हिंसा स्वीकार्य हुँदैन तर, सरकारै लुलो र फितलो भएपछि कसको के लाग्छ र ?’ उनले थपे । संविधान कार्यान्वयनको लागि निर्वाचन आवश्यक भएको भन्दै ओलीले नेपाली जनताले अनुपयुक्त संसदले काम गर्न सक्दैन भन्ने बुझिसकेकाले अबको निर्वाचनपछि जनताले त्यसको जवाफ दिने बताए । अध्यक्ष ओलीले अबको स्थानीय तहको निर्वाचनपछि एमाले देशकै पहिलो पार्टी बन्ने दाबी समेत गरेका छन् । स्थानीय तहको निर्बाचनपछि सत्ता समिकरणका लागि एमालेले कसैसंग गुहार माग्नु नपर्ने बताउँदै पूर्ब प्रधानमन्त्री समेत रहेका ओलीले मेची महाकाली अभियानको क्रममा मधेसी मोर्चाले अराजनीतिक अलोकतान्त्रिक हिंसाबादी र आतंकारी चरित्र देखाएको उल्लेख गरे । जनतालाई उत्तेजनामा लिएर स्कुल पढने बालबालिकालाई ढुंगा हान्न सिकाउने निन्दनीय कार्यको जनताले मुल्याकंन गर्ने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित