गच्छदारका कारण गगन थापाको स्वास्थ्य मन्त्री पद धरापमा, सिटौलाले दबाब नदिने
काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउने तयारी अन्तिम चरणमा पुगेपछि गगन थापाको स्वास्थ्य मन्त्री पद धरापमा परेको चर्चा सुरु भएको छ । स्वास्थ्य वा सिचाइँ मन्त्रालयमध्ये एक मन्त्रालय पाउनु पर्ने फोरम लोकतान्त्रिकको दाबी छ ।
तर, सबै मन्त्रालयहरू कांग्रेसको भागमा रहेकाले कसरी मिलाउने भन्ने विषयमा सहमति हुन नसकेको बुझिएको छ । फोरम लोकतान्त्रिकले स्वाथ्य मन्त्रालयमा अलिक धेरै नजर लगाएको छ ।
फोरम लोकतान्त्रिकका तर्फबाट मन्त्री हुने सूचीमा सांसदद्वय योगेन्द्र चौधरी र जनकराज चौधरीको नाम चर्चामा छ । अध्यक्ष विजय गच्छदारसहित योगेन्द्र चौधरी वा जनकराज चौधरीमध्येबाट एकजना मन्त्री बन्ने पक्का रहेको फोरम लोकतान्त्रिकका एक नेताले बताए ।
फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन रमेश लेखक, गगन थापा र दीपक गिरीमध्ये दुई जनाले मन्त्रालय छाड्नुपर्ने बाध्यता आइपुगेको स्रोतको दाबी छ । कांग्रेस सभापति शेरवहादुर देउवाले भने गगन थापालाई मन्त्रीबाट फिर्ता बोलाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग कुरा मिलाईसकेको स्रोतले जनायो ।
सरकारमा गएपछि एकलौटी ढंगले काम गरेका मन्त्री थापालाई नेता सिटौलाले पनि खासै मन पराएका छैनन् । त्यसकारण, आफ्नै समुहका मन्त्री थापालाई नेता सिटौलाले अन्तिममा आएर मन्त्रीमा यथाबाट राख्न देउवालाई खासै दबाब नदिएको बुझिएको छ ।
प्रतिक्रिया