वर्तमान सरकार अन्तैका प्रभु रिझाउन व्यस्त :एमाले अध्यक्ष ओली
भैरहवा । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार अन्तैका प्रभु रिझाउन व्यस्त रहेको आरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसका नाममा राजनीति गर्न चाहनेहरू त्यहाँका जनतालाई मराउन चाहेको बताए ।
त्यसरी मारिनेहरू हाम्रै भाइछोराहरू हुन् भन्दै उनले तिनलाई बिनाकारण मराइएको बताए । ‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरूमाथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपालभित्र आएर नेपालीमाथि गोली हानियो’, ओलीले भने, ‘यता आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरूमाथि कारवाही गर्दा प्रहरी अधिकारीहरूमाथि नै कारवाही गरियो ।’उनले काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने भनेर प्रश्न समेत गरेका छन् । ‘यस देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन ।
जनताको यो उपस्थितिले देखाउँछ, सरकार हामी चलाउँछौँ ।’‘यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरूलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ’, उनले भने ।
प्रतिक्रिया