सप्तरीमा एमालेलाई रोक्ने मोर्चाको प्रयास, झडपको स्थिति निम्तिदै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली यात्रालाई लिएर सप्तरीको सुरक्षा ब्यवस्थालाई कडा बनाइएको छ । मेची महाकाली यात्राका क्रममा सोमबार सप्तरीमा अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेपनि मधेसी मोर्चाले भने एमालेलाई जिल्ला प्रवेशमा रोक लगाएको छ । बिहानैदेखि मधेशी मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर अवरोध गरिरहेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । मोर्चा र एमाले कार्यकर्ताबीच तनावको स्थीति आउन सक्ने भन्दै प्रशासनले कार्यक्रम स्थान र सडक वरपर बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेका छन् । प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीमा समेत बन्दकर्ताले तोडफोड गरेका हुन् । नेकपा एमालेको मेची–महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम छ । सप्तरीमा एमालेको कार्यक्रमका लागि अहिले मञ्च बनाइँदैछ । एमाले र मधेसी मोर्चा आमने सामने हुने भएपछि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । संविधान निर्माण प्रक्रियासँगै विपरीत ध्रुवमा रहेका एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भिडन्तको अवस्थामा पुगेका छन्। संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित एमालेले सुरु गरेको १५ दिने मेची–काली राष्ट्रिय अभियानलाई मोर्चाले बिथोल्ने गरी विभिन्न कार्यक्रम घोषणा गरेपछि परिस्थिति असहज बन्ने सम्भावना बढेको हो। मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार सुनसरीको लौकहीमा राखिएको कोणसभा स्थगित गरिएको छ। झुम्का र इनरुवामा भने कोणसभा हुँदैछ। मधेसी मोर्चाका कार्यकर्ताले अभियानमा अवरोध गर्ने सम्भावना बढेपछि लौकहीको कोणसभा स्थगित गरिएको बताइएको छ । लौकहीमा जनपरिचालन सोचे अनुसार नभएकाले गर्दा त्यहाँ कोणसभा नगरिकन सिधै सप्तरीतर्फ जाने तयारी भएको एमाले सुनसरी जिल्ला अध्यक्ष द्दारिकलाल चौधरीले बताए। उनका अनुसार, झुम्का र इनरुवामा भने कोणसभा हुनेछ।
प्रतिक्रिया