निर्वाचन रोकिएपछि आर आरमा तनाव
काठमाडौं : निर्वाचन आयोगले क्याम्पसहरुमा अब निर्वाचनका कार्यक्रम नगर्न निर्देशन दिएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भने तनावको स्थिति सिर्जना भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको माग गरेर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले नाराबाजी गरेपछि तनाव भएको हो । अनेरास्ववियुका कार्यकर्ताहरूले स्ववियुको निर्वाचन छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै नारावाजी गरेका हुन् ।पूर्व कार्यतालिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यक्रम थियो । निर्वाचन आयोगले आचार संहिता देखाउँदै मतदान रोक्न भनेपछि आरआर क्याम्पस प्रशासनले निर्वाचन कार्यक्रम अगाडि नबढाएको जनाएको छ । उता, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले भने स्ववियु निर्वाचनका बेला आरआर क्याम्पसमा एमाले निकट अनेरास्ववियुले मतदातामा धाँधली गरेको भन्दै निर्वाचन रोक्न माग गरेको छ । नेपाली कांग्रेस निकट नेविसंघले एमाले निकट अनेरास्ववियुले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै उम्मेदवारी नै दर्ता गरेको छैन । तीन ठूला विद्यार्थी संगठनहरू एकअर्का विरुद्ध उत्रिएपछि शान्ति सुरक्षा बनाउने आरआर क्याम्पस आसपासमा ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन् ।
प्रतिक्रिया