मोर्चाका कार्यकर्ताले एमाले नेतालाई कालोमोसो दले, एमालेको अभियान विफल पार्ने मोर्चाको तयारी
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग मुठभेड भएको छ । मोची महाकाली अभियानअन्तर्गत फागुन २३ गते सदरमुकाम राजविराजमा अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने एमालेको अडान र मधेस आन्दोलनका बेला मधेसविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै ओलीलाई कुनै पनि हालतमा राजविराज आउन नदिने मधेसी मोर्चाको चेतावनीका कारण दुईपक्ष आमने सामने भएका हुन् । शनिबारदेखि प्रारम्भ हुन लागेको मेची–महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमाले र त्यसबिरुद्धआन्दोलन घोषणा गरेको मधेसी मोर्चा सप्तरीमा आमने सामने भएका हुन् । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको हो । अभियानलाई सफल पार्न सकृय रहेका एमाले कार्यकर्ताबिरुद्व मोर्चा कार्यकर्ता खनिएका छन् । शुक्रबार मोर्चा कार्यकर्ताले राजविराजको हटियामा रहेका एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका छन् । एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपाने भने,‘लोकतन्त्रमा प्रजातान्धिक तरिकाबाट सबै दल र समुदायले आ(आफना विचार लिएर जनतामा जान पाउनुपर्छ, हामी मेची–महाकाली अभियानमा छौं तर हामीलाई कार्यक्रमै गर्न नदिने मधेसी मोर्चाका नेता कार्यकर्ताको रबैया अराजकताको पराकाष्ठा हो ।’ यता, मधेसी मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले मोर्चाले निर्णय नै गरेर एमाले सदस्य चौधरीलाई कालोमोसो नदले पनि एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गरेको हुन सक्ने भन्दै पन्छिएका छन् । मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न नदिने उनले बताए ।
प्रतिक्रिया