राप्रपा चुनाव चिन्ह बिहीन पार्टी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अध्यक्ष कमल थापाले दादागिरि देखाउन थालेपछि पशुपतिशमशेर राणाले जोडदार रुपमा विरोध गर्न थालेका छन् । राप्रपा र राप्रपा नेपाल एकीकरणका बेला पार्टीको नाम र चुनाव चिन्हमा सहमति भइसकेको विषयलाई थापाले बेवास्ता गरेपछि राणाले विरोध थालेका हुन् ।स्रोतका अनुसार अध्यक्ष थापाले गाईलाई चुनाव चिन्ह बनाउने योजना आफू निकटकालाई भन्न थालेका छन् । यो कुरा चाल पाएपछि राणाले थापाको विरोध गरिरहेका छन् । राणासँग मात्रै डराउने थापाले महाधिवेशनमा पनि चुनाव चिन्हको विषयलाई गोलमटोल गरेर प्रतिनिधीहरूलाई भ्रममा पार्न सफल भएका थिए ।
थापाको कुटिल योजनालाई राणाबाहेकका कुनै पनि नेताहरूले चाल पाएनन् । आफूलाई अत्यन्तै अध्ययनशील र जान्नेबुझ्ने नेताका रुपमा प्रस्तुत गर्दै आएका डा.प्रकाशचन्द्र लोहनीले समेत चुनाव चिन्ह हलोका विषयमा खासै अडान नलिएको आरोप छ । लोहनीले शुरुमा आफ्नो व्यक्तिगत स्वार्थका कारण अध्यक्षमा उम्मेदवारी दिने भनेपनि अन्तिम क्षणमा लुसुक्क ब्याक भएका थिए । राणालाई अध्यक्षको उम्मेदवारी दिन रोक्नुमा लोहनीको ठूलो भूमिका छ । स्रोतले भन्यो, ‘कमल थापासँग अध्यक्षमा प्रतिस्पर्धा गर्छु भनेर राणालाई प्रकाशचन्द्र लोहनीले अगाडि बढ्न दिनुभएनन् । आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न हलो चुनाव चिन्हलाई कमल थापासँग सम्झौता गरेर आएको खुलासा भएको छ ।’राप्रपाको विधानमा अहिले चुनाव चिन्ह नै छैन ।
थापा गाईलाई चुनाव चिन्ह बनाउने पक्षमा छन् । राणा भने पूर्व सहमति अनुसार हलोलाई नै चुनाव चिन्ह बनाउनु पर्ने अडानमा छन् । राणाले हलोलाई स्थापित नगर्दासम्म थापालाई चयनसँग बस्न नदिने चेतावनी दिइसकेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । राणाले चेतावनी दिएपछि थापाको निद हराम भएको छ ।उता, मोरङ जिल्लामा राप्रपाले दल दर्ता गराएको छैन । निर्वाचन आयोगले दल दर्ताका लागि सबै राजनीतिक पार्टीसँग दलहरूको आह्वान गरेको थियो । तर, राप्रपाका मोरङ जिल्लाको नेतृत्वले दर्ता दर्ता नगरेपछि अब स्थानीय निर्वाचनमा राप्रपा दलविहीन रुपमा प्रतिस्पर्धामा उत्रनेछ । राप्रपाका उम्मेदवारहरूले एउटै चुनाव चिन्ह पाउने छैनन् । यो समाचार चाल पाएपछि अध्यक्ष थापा मोरङका नेताहरूसँग आगो बनेका छन् ।
प्रतिक्रिया