प्रधानमन्त्री प्रचण्डसँग भारतीय र चिनियाँ राजदूतको भेटवार्ता, रायको कार्यकाल पूरा

ranjit reकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालका लागि भारतीय राजदूत रणजित रायले भेटवार्ता गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुवै भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा वार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

  सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको र यसमा चीनको सकारात्मक सहयोग रहने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।

 प्रधानमन्त्री प्रचण्डले एक क्षेत्र एक मार्गअन्तर्गत विकासका कार्यक्रम अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरे । चिनियाँ राजदूत होङले नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको र यसमा चीनको सदैव सद्भाव रहने बताएका थिए ।

  भारतीय राजदूत रायले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका अवसरमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन । राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकामा धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे ।

  रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाको कार्यान्वयनले गति लिएको, द्विदेशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता रहेको र दुई देशबीच उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।   भारतीयराजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकामा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित