स्ववियु निर्वाचनमा तालाबन्दी र आगजनी

sobiyuकाठमाडौं।  मिनी निर्वाचनका रुपमा हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडपहरु भएका छन् ।  केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

 मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका  कारण निर्वाचन अनिश्चित भएको छ । आगजनीका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । विश्वभाषा क्याम्पसमा वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिष्टर जलाएको छ ।

 स्ववियु चुनाव को लागि विद्यार्थी परिचयपत्र वितरण भइरहेका बेला क्रान्तिकारी निकट विद्यार्थीहरुले रजिष्टर खोसेर आगजनी गरेका थिए ।

  केन्द्रीय क्याम्पस कीर्तिपुर र पाटन संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । एकमुष्ठ विद्यार्थीको फर्जी भर्ना खारेज गर्नुपर्ने, तीन विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको सिण्डीकेट खारेज हुनुपर्ने लगायतका माग राखी सात विद्यार्थी संगठनले तालाबन्दी गरेको बताइएको छ ।

  प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस भित्र रहेको स्ववियु कार्यालयमा आगजनी भएको छ । स्ववियु निर्वाचन कार्यतालिका अनुसार शनिबार उम्मेदवारहरुको मनोनयन दर्ता थियो । मनोनयन दर्ताकै विषयमा नेपाली विद्यार्थी संघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप समेत भएको छ । झडपमा परि करिव ६ जना विद्यार्थी घाइते भएका जनाइएको छ ।  मनोनयन दर्ताकै विषयमा विवाद हुँदा स्ववियु कार्यालयमा आगजनी भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित