शिर्ष नेताहरुको निर्णय लत्याउँदै विद्यार्थी नेताहरुले सारे स्ववियु निर्वाचन
काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् । असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउन भन्दै प्रमुख तीन दल र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले निर्वाचन सार्ने सहमति गरेका हुन् । विभिन्न क्याम्पसमा तालाबन्दी र विप्लव माओवादीको विद्यार्थी संगठनले चुनाव सार्न गरेको आग्रहअनुसार चुनाव हुने सर्तमा पाँच दिन सार्ने सैद्धान्तिक सहमति भएको हो । स्ववियु निर्वाच्न फागुन २१ गते गर्ने सहमति भएको छ । यता, त्रिविले बिहीबार दिउँसो प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा डाकेको छ । सहमतिपछि अब असन्तुष्ट पक्षले क्याम्पसहरुमा लगाएको ताला खोल्नेछ । विद्यार्थी संगठनहरुबीचको विवादले पहिलेको निर्वाचन तालिका प्रभावित बनेको छ । केही विद्यार्थी संगठनको विरोध र क्याम्पसहरुमा लगाइएको तालाबन्दीका कारणा यथास्थितिमा चुनाव गर्न नसक्ने क्याम्पस प्रमुखहरुको भनाइका कारण चुनाव सार्न बाध्य भएको विद्यार्थी नेताहरुको भनाइ छ । बिहानको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।
प्रतिक्रिया