भक्तपुरमा पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

Death

भक्तपुर । भक्तपुरमा आमाछोरा नै पर्खालबाट हाम्फाल्दा आमाको घटनास्थलमा मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । 

मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा भाडामा बस्ने आमाछोरा बुधबार राति साढे १० बजे पर्खालबाट हाम्फालेका हुन् । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएकी ७४ वर्षीया मनमाया तिमिल्सिना छिन् ।

उनको कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनालाई घाइते अवस्थामा फेला पारिएको छ । कमेरेटारस्थित पिपलको रुखको फेदमा लगाएको पर्खालमा चढी दुबै जना पर्खालको माथीबाट अन्दाजी ५० मिटर तल हाम फाल्दा घटना भएको प्रहरीले जनाएको छ । 

स्थानीयले खबर गरेपछि आज बिहानै मातुरामलाई उद्धार गरी मध्यपुर अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार छोराको अवस्था बोल्न सक्ने, टाउको र खुट्टामा भित्री चोटले हिँड्न नसक्ने छ । दुवै जना डिप्रेशन बिरामीको औषधिको सेवनको गर्दै आएको सूचना पाएको डीएसपी पाण्डेले जानकारी दिए । 

मृतक वृद्धा श्रीमान, जेठो छोरा, बुहारीसँग बस्दै आएका थिइन् । उनीहरु पारिवारिक तनाव, शारीरिक र मानसिक अवस्थ भएका कारण पनि घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनीहरुले आफ्नै सल्लाहमा पर्खालबाट हाम्फालेको भनी लेखिएको नोट पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित