सबै तहको निर्वाच मिति घोषणा गर्न एमालेको माग
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले ०७४ सालको माघ ७ गते अगाडि सबै तहको निर्वाचन गर्न सरकारसँग जोडदार रुपमा माग गरेको छ । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज बसेको पोलिट्ब्युरोको बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा स्थानीय तह, प्रदेश र संसदको चुनाव माघ ७ गते अगाडि गर्न प्रस्ताव गरिएको हो ।
बैठकमा अध्यक्ष ओलीले नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको संविधानको रक्षा गर्नु, सम्बद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेला राष्ट्र र एमालेको ऐतिहासिक कार्यभार रहेको बताए ।
‘संविधानले समेत निर्दिष्ट गरे मुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकायहरु निर्वाचनको माध्यमबाट गठन गर्नु अनिवार्य छ’, ओलीले भने, ‘स्थानीय तह र केन्द्रीय तहका निर्वाचनका मितिहरु अविलम्ब घोषणा गर्न, त्यसका लागि कानूनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन ।’आजको बैठकमा समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारहरु लगायतका विषयहरु समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गरेका छन् । १० पेज लामो उक्त प्रतिवेदन पोलिट्ब्युरो सदस्यहरूले अध्ययन गरी बिहीबारको बैठकमा राय, सुझाव तथा धारणाहरू प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया