एमालेको जालो तोड्ने रणनीतिमा कांग्रेस
काठमाडौं । तत्कालीन गृहमन्त्री बामदेव गौतमले २०५२ सालमा स्थानीय निकायमा जसरी कब्जा गर्न सफल भए त्यसै गरी कांग्रेसले पनि स्थानीय तह कब्जाको रणनीति बनाउनु पर्छ भनेर नेता तथा कार्यकर्ताहरूले दबाब सिर्जना गरिरहेका छन् । एमालेले ०५२ सालमा कब्जा जमाएको स्थानीय निकायको ब्याज अहिले पनि एमालेका नेता र कार्यकर्ताले खाइरहेका छन् । एमालेका नेताहरू अहिले पनि स्थानीय निर्वाचन नहोस् भन्ने पक्षमा छन् । आफ्नो संयन्त्र बलियो बनाएको एमालेलाई स्थानीय निर्वाचन भइहाल्यो भने घाटा लाग्ने भनेर ठूलो डर छ । बाहिर स्थानीय निर्वाचनको कुरा गरे पनि कांग्रेसले स्थानीय तहमा कब्जा जमाउने डरले एमालेभित्र ठूलै खैलाबैला मच्चिएको छ । गृह प्रशासनबाट गोप्य सूचना पाएको कांग्रेसले यसपटक साम, दाम, दण्डभेद सबै प्रयोग गरेर स्थानीय निर्वाचनमा कब्जा जमाउने योजनामा लागेको स्रोतको दाबी छ । कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जसरी हुन्छ प्रचण्डको नेतृत्वमा स्थानीय चुनाव गरेर कांग्रेसको पक्षमा बहुमत ल्याउने भित्री तयारीमा लागेका छन् ।
स्रोतका अनुसार देउवाको यो योजना बुझेर वरिष्ठ नेता रामचन्द्र समूहले पनि भित्रभित्रै सहयोग पु-याएको छ । पौडेल समूहले पनि स्थानीय तहको सीमाङ्कनमा देखिएको विवादलाई मिलएर चुनाव गरेर बहुमत ल्याउनुपर्ने भन्दै रणनीति बनाएको बुझिन्छ ।
०५२ सालदेखिको एमालेको स्थानीय निकायमा रहेको जालोलाई जसरी हुन्छ यसपटक भत्काउने पक्षमा कांग्रेसीहरू जुटेका छन् । पछिल्लो समयमा एकाएक कांग्रेसको पक्षमा स्थानीय तहमा माहोल बढ्दै गएको राजनीतिक विश्लेषकहरू पनि बताउन थालेका छन् । तर, कांग्रेसका सभापति शेरबहादुर देउवाले बनाएको योजनालाई गृहमन्त्री निधिले कसरी कार्यान्वयन गर्ने हुन् सबैले चासोका साथ हेरिरहेका छन् ।
स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा बनाउनका लागि कांग्रेसलाई सहयोग गर्ने प्रहरी महानिरीक्षक आवश्यक पर्ने कांग्रेसका एक नेता बताउँछन् । उनी भन्छन्–‘कांग्रेसलाई सहयोग गर्ने महानिरीक्षक आवश्यक पर्छ । एमालेको पिछलग्गु भन्नेहरूलाई प्रहरी महानिरीक्षक बनाइनु हुँदैन ।’कांग्रेसले स्थानीय चुनावको प्रचार प्रसार पनि थालिसकेको छ । आन्तरिक रुपमा चुनावी रणनीति बनाउन सभापति देउवाले आफ्नो किचन क्याबिनेटलाई निर्देशन समेत दिइसकेका छन् । देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई निर्वाचनको तयारी गर्न र दायाँबायाँ नसोच्न दबाब दिइरहेका छन् । यूनाइटेड पोस्टमा खबर छ
प्रतिक्रिया