काठमाडौं । संविधान संशोधन र लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावसँग तात्तिएको नेपाली राजनीतिले कतिखेर आफ्नो ल्याण्डिङ लिने हो केही खुलेको छैन । यी दुई विषयलाई लिएर विभिन्न समूहले तिकडम पनि थालेका छन् । कसले बाजी मार्छ त्यो भने अबको दुई महिनाभित्र देखिने छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तत्काल यथाअवस्थामा पारित हुने देखिदैन । मधेसी मोर्चाको भनाइलाई सापट लिएर बुझ्ने हो भने उसले कुनै पनि हालतमा संशोधनलाई साथ दिने पक्षमा छैन । तर, मधेसी मोर्चाको रिमोट दक्षिणतिर रहेकाले अन्तिममा मधेसी मोर्चाले संशोधनलाई साथ दिने पक्का छ ।
अर्कोतर्फ राप्रपाका अध्यक्ष कमल थापाको बोली आजकाल अचानक फेरिएको छ । उपप्रधानमन्त्रीसहित दुई आकर्षक मन्त्रालयको माग गरिरहेका कमल थापाले सरकारलाई धम्क्याएको कतै छिपेको छैन । सत्तामा रहेर सरकारी विधेयकलाई असहयोग गर्छु भन्नु राप्रपाको ठूलो भुल हो । विधेयकलाई असहयोग गर्ने हो भने थापाले दुई मन्त्रीलाई तत्काल फिर्ता बोलाउन सक्नु पर्छ । थापा पनि अन्त्यमा विधेयककै पक्षमा हुनेछन् ।
च्याखेदाउ छोपेर बसेका साना दलहरू अहिले सरकारलाई समर्थन गर्ने पक्षमा छन् । एकनाथ ढकालको परिवार दलले एमालेको पुच्छर बन्ने संकेत गरिसकेको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ताका साथै संशोधनको विपक्षमा रहने निर्णय गरेर वामपन्थीको भक्त भएको प्रमाणित गरेको छ । यता, कांग्रेसभित्र पनि विमलेन्द्र निधिको बढ्दो हालिमुहालीबाट सभापति शेरबहादुर देउवा पनि सशंकित बनेका छन् । स्रोतका अनुसार निधिलाई ठेगान लगाउन पाए उसको हालिमुहाली केही हदसम्म भएपनि अन्त्य हुन्थ्यो कि भने निकटका नेताहरूसँग भन्न लागेका छन् देउवाले । नेताहरु रामचन्द्र पौडेल, खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला समूह त झन् निधिको कार्यशैलीबाट आजित नै बनेका छन् ।
निधिलाई ठेगान लगाउन पनि कांग्रेसको असन्तुष्ट समूहले संशोधन प्रस्तावलाई सहयोग गरे जस्तो गरेर तत्काल पारित हुन नदिने रणनीतिमा लागेको स्रोतले जनाएको छ । अहिलेकै प्रचण्ड सरकारले संशोधन विधेयक पारित गर्न सक्नेमा अनेकौँ प्रश्नहरू उब्जिएका छन् । प्रचण्डले संविधान संशोधनको विधेयक पारित गरेमा लामो समय टिक्ने र एमालेसँगको जोडघटाउमा पुग्न सक्ने देउवा समूहको आशंका छ । सोही कारण पनि तत्काल विधेयक पारित हुने छाँटकाँट छैन ।
संशोधनको विधेयक मात्रै होइन, लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव तत्काल पारित हुने छैन । अहिले नै महाअभियोग प्रस्ताव पारित भयो भने एमालेले भने जस्तो हुने भन्दै कांग्रेसले यो प्रस्तावलाई कम्तिमा ४ महिनासम्म झुलाएर राख्न खोजेको स्रोतको भनाइ छ । यी दुई प्रस्तावलाई पासो बनाएर देउवाले सत्ता हत्याउने दाउमा लागेको स्रोतले जनाएको छ । अहिलेको अंकगणितले पनि दुबै प्रस्ताव पारित हुने कतै देखाउँदैन । एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको बालकोटमा रहेको आफ्नो आलिसान दरबारमा एकसाता यता साना दलका सांसदहरूलाई बोलाएर पालैपालो भेटघाट गरिरहेका छन् ।
उनले संविधान संशोधनको विधेयक राष्ट्रघाती भएको भन्दै विरोधमा उत्रन साना दलका सांसदहरूलाई उकासिररहेको खुलेको छ । उनको उक्साहटमा एकनाथ ढकाल, विश्वेन्द्र पासवानसहितका सांसदहरू परिसकेका छन् । ओलीको यो प्रयासले एमालेलाई भन्दा पनि देउवालाई फाइदा पुग्ने देखिएको छ ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रतिक्रिया