संसद सचिवालयमा नेम्वाङको यसरी हुन्छ हस्तक्षेप
काठमाडौं । एमालेका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संसद सचिवालयमा आफ्नो दबाब कायम राख्ने प्रयास गरेका कारण माओवादी केन्द्र निकट कर्मचारी र सांसदहरू नेम्वाङसँग चिढिएका छन् । नेम्वाङलाई कुनै पनि हस्तक्षेप नगर्न पटक–पटक चेतावनी गइसकेको छ । तर, उनी सच्चिने पक्षमा छैनन् ।संसदीय दलमा एमाले अध्यक्ष केपी ओलीको कार्यकक्षभन्दा पनि आलिसान रुपमा सजाएर बसेका नेम्वाङले संसद सचिवालयमा आफ्नो दबदबा कायम राखेका हुन् ।
स्रोतका अनुसार सभामुख ओनसरी घर्तीको कार्यसम्पादनमा अहिले पनि नेम्वाङले हस्तक्षेप गर्ने गरेका छन् । कर्मचारी सुरुवा, बढुवा, नियुक्तिदेखि प्रशासनिक कार्यमा समेत नेम्वाङले हस्तक्षेप गर्ने गरेका छन् ।ओलीका अत्यन्तै निकट मानिने नेम्वाङ कानून र राजनीतिक दाउपेचमा दख्खल राख्छन् । तर, उनले सभामुख घर्तीको कार्यसम्पादनमा असर पर्ने गरेर गर्ने क्रियाकलापले भने माओवादी केन्द्रलाई हदैसम्म सास्ती भएको छ ।
नेम्वाङलाई आफू विरुद्ध माओवादी केन्द्रका सांसदहरू रहेको पनि थाहा छ । तर, उनको व्यवहार र कार्यशैलीमा कुनै परिवर्तन नभएको माओवादी केन्द्रका एक सांसदले जनाए ।हुन त सभामुख घर्ती पनि कम्ता कि छैनन् । उनले आफ्नो सचिवालयमा माओवादी केन्द्रका कार्यकर्ता र पूर्व लडाकुहरूलाई भरेर राखेकी छिन् । उनको सचिवालय निकम्मा रहेको माओवादी केन्द्रका सांसदहरूको आरोप छ ।
सचिवालयका १/२ जना सहयोगी बाहेक सबैले आफ्नो के जिम्मेवारी हो ? कसरी काम गर्ने हो भन्ने हेक्का समेत राख्दैनन् । सचिवालयका कर्मचारी र सहयोगीहरू क्यान्टिनबाट खाजा मगाएर मोजमस्ती गरेर खाजा खाने भन्दा अरु केही नगर्ने गरेको स्रोतको भनाइ छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । ।कुटिल राजनीति गर्ने नेम्वाङले नै नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्न प्रमुख भूमिका खेलेको आरोप छ । उनै नेम्वाङले पश्चिमा राष्ट्रहरूसँग मिलेर संसदबाट अचानक धर्मनिरपेक्ष शब्द प्रवेश गराएको उनकै पार्टी एमालेका नेताहरूले आरोप लगाउँदै आएका छन् । नेम्वाङ भने यो आरोप मान्न तयार छैनन् ।
प्रतिक्रिया