पाटन संग्रहालयलाई बाराही जोगिनीको मूर्ति हस्तान्तरण
९१ वर्षीय क्रोधकला शिरोमणि कालु कुमालेको पौरख

काठमाडौं ।
क्रोधकला शिरोमणि कालु कुमालेले पाटन संग्रहालयलाई बाराही जोगिनीको ६ फिट ४ इन्चको मूर्ति दिएर आफू जीवितै रहँदा एउटा इच्छा पूरा गर्नुभएको छ। ९१ वर्षको उत्तरार्धमा पनि क्रोधकलाको मूर्ति बनाएर विश्वप्रसिद्ध भएका कुमालेले संग्रहालयमा आउने पर्यटकलाई आफ्नो क्रोध कलाको परिचय दिन मूर्ति हस्तान्तरण गर्नुभएको हो ।
तामाको सो मूर्ति हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो– ‘यो मूर्तिलाई राम्ररी राख्नु है ।’ उहाँका छोरा हालु आर्टस एन्ड हेन्डिक्राफ्ट प्रालिका प्रबन्ध निर्देशक राकेश अवालेले बुबाले तयार गरेका सयौं मूर्तिमध्ये यो मूर्ति महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बुबाको पाटन संग्रहालयलाई एउटा क्रोध कला दर्शाउने मूर्ति दिने इच्छा पूरा भएको छ।’
अवालेले क्रोध शिरोमणि कालु कुमालेको बारेमा सर्वसाधारणले जानकारी पाउन सकून् र बुबाको उपहार सयौं वर्षसम्म रहिरहोस् भन्ने परिचय जान्न वाराही जोगिनीको मूर्ति संग्रहालयलाई हस्तान्तरण गरेको नेपाल समाचारपत्रसँग भन्नुभयो। कालु कुमालेले यो वाराही जोगिनीको मूर्ति आफ्नो ८१ वर्षको उमेरमा सिर्जना गर्नु भएको थियो।
संग्रहालय प्रशासनले सो मूर्ति हिजो शनिबारसम्म सर्वसाधारणलाई अवलोकन गराउन भित्री चोकमा राखेको थियो । संग्रहालय प्रमुख मञ्जु भण्डारीले चोकमा रहेको सो मूर्ति आज आइतबारबारबाट अस्थायी प्रदर्शनी कक्षमा राख्ने जानकारी दिनुभयो । ‘प्राज्ञ क्रोधकला शिरोमणि कुमालेको क्रोध मूर्ति हेरेका थियौं, उहाँको बारेमा धेरै पढेका थियौं, संग्रहालयमै मूर्ति राख्न पाएपछि गर्व महसुस गरेका छौं’ –संग्रहालय प्रमुख भण्डारीले भन्नुभयो।
कुमालेका छोरा अवालेले बुबाको कृतिलाई विश्वभर चिनाउन र क्रोधकलाको बारेमा जानकारी गराउन सो मूर्ति संग्रहालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो। नेपाली बौद्धकलामा आधारित क्रोध मुद्राको मूर्ति बनाउन खप्पिस क्रोध शिरोमणि कुमाले परम्परागत धातु मूर्तिकलाको रचयिताको रूपमा चिनिनुहुन्छ। ९१ वर्षको उमेरमा पनि निरन्तर कर्मयोग गरिरहेका शिरोमणि कुमाले अहिले पनि आफ्ना चेलालाई निरन्तर रूपमा मूर्तिकलाको ज्ञान बाँडिरहनुभएको छ।
पाटन संग्रहालयमा क्रोधकलाको मूर्ति उपहार दिएपछि हर्षित मुद्रामा देखिनुभएका कुमालेले आफ्नो सिर्जनालाई सबैतिर फैलाइदिन संग्रहालयलाई आग्रह गर्नुभएको थियो।
चीन, बेलायत, भारतलगायत झन्डै दुई दर्जन बढी मुलुकमा नेपाललाई मूर्तिकलाका माध्यमबाट चिनाउने कुमाले नेपालको आधुनिक मूर्तिकलाको पितामहका रूपमा चिनिनुहुन्छ। क्रोधकलाकै मूर्ति बनाएर विश्वभर चिनिएका कुमालेको औपचारिक शिक्षा खासै छैन । सानैदेखि बुबाकै बिँडो थामेर मूर्तिकारको परिचय बनाउनुभएको हो।
उहाँको कामको कदर गर्दै २०७३ साल वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले क्रोध कलाशिरोमणिको उपाधि प्रदान गरेको थियो। उहाँले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, सुप्रसिद्घ प्रबल जनसेवाश्री पदक, सगरमाथा प्रतिष्ठान सम्मानलगायत दर्जनौं सम्मान र पुरस्कार पाइसक्नुभएको छ।
कुमालेले दलाइ लामाका लागि समेत मूर्ति बनाउनुभएको छ । लामाको निर्देशनमा एक जना रिम्पोछे सन् १९७६ मा अजिमा बनाउने व्यक्तिको खोजी गर्दै कालु कुमालेकोमा आएका थिए । त्यसपछि धर्मगुरु लामाकै आग्रहमा कुमालले अजिमा निर्माण गर्नुभएको थियो। कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरवको मूर्ति, धन्वन्तरी बराही मूर्ति, शंखमूलको रहेको राधारुक्मणी मूर्ति, त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको वज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेवसहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।
उहाँ बुबाको कुमाले काम हेर्दै माटोमा खेल्दै जनावर पंक्षीका आकृति बनाउॅदै आफ्नै मिहिनत र प्रयासले कलाक्षेत्रमा लाग्नु भएको थियो। उहाँका कलाकृति विश्वका ५० भन्दा बढी मुलुकमा पुगिसकेका छन्।
उहाँले छ्वास्कामुनी अजिमा, वज्रयोगिनी, महिषसम्बर, चक्रसम्बर, कालचक्र, काम्यु महांकाल, सिपिज्याल्म्यो, बज्रपाणि बोधिसत्व, डाकिनी, गरुड, सेतो महांकाल, भैरव, कालभैरवलगायतका क्रोधरूपी मूर्ति बनाइसक्नुभएको छ ।
(साभार : ईश्वरराज ढकाल, नेपाल समाचारपत्र)
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_Lu11K8Azt3_kq0wouygawrrzgeln7kq4fz3nosmzqdpusgoygnwwmwfyesneerehgmogfve.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_l11vTgIW6G_cuxcmdsaqa89o1wxkg4sll2anyluiv9nbbystnqeomhzabcroiaxcdpw4skh.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया