यसरी पर्दै छ परराष्ट्र मन्त्री महतको पद धरापमा
काठमाडौं । उर्जामन्त्री हुँदा जलमाफियासँग साँठगाँठ गरी विभिन्न हाइड्रो पावर कम्पनीको कमिसन खाएर विवादमा परेका हालका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतको मन्त्री पद एक महिना भित्रै धरापमा परेको छ । डा.महतलाई छिट्टै मन्त्री पदबाट राजीनामा दिने अवस्था आउन लागेको स्रोतले जनाएको छ । पूर्व सहमतिअनुसार संघीय गठबन्धनबाट उपेन्द्र यादव उपप्रधान एवं परराष्ट्रमन्त्री बन्ने तयारीमा रहेपछि डा.महतले मन्त्री पद छाड्नुपर्ने अवस्था आउन लागेको हो ।
हालै बसेको संघीय गबठनधनको बैठकमा अध्यक्ष यादवले आफू उपप्रधान एवम् परराष्ट्रमन्त्री बन्न लागेको संकेत दिएका छन् । यादवको सोही योजना थाहा पाएपछि मधेसी मोर्चाका चारवटा दल महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिलकुमार झाको नेपाल सद्भावना पार्टीले संघीय गठबन्धनको बैठक बहिष्कार गरेका थिए । कहिलेसम्म यादव उपप्रधान एवम् परराष्ट्रमन्त्री बन्ने हुन् सो विषयमा केही स्पष्ट नबताइए पनि दशैं अगाडि डा.महतलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालय खाली गर्ने योजनामा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल लागेका छन् ।
संघीय गठबन्धनलाई अरु दुई मन्त्रालय पनि दिइने बताइएको छ । ती हुन् श्रम र सहकारी तथा गरिवी निवारण मन्त्रालय । श्रम मन्त्रीमा सूर्यमान गुरुङ छन् भने सहकारी तथा गरिवी निवारण मन्त्रीमा हृदयराम थानी छन् । यी दुई मन्त्रीको पद पनि केही दिनका लागि मात्रै रहेको कांग्रेस स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री खाली गराउन सजिलो होस् भनेरै सभापति देउवाले डा.महतलाई मन्त्री बनाएको स्रोतको भनाइ छ । होइन भने पहिला परराष्ट्र मन्त्रालयमा डा.शेखर कोइरालाको नाम थियो । डा.कोइरालालाई फिर्ता बोलाउन समस्या पर्ने भएकाले देउवाले सहज होस् भनेर डा.महतलाई परराष्ट्र मन्त्री बनाएको बताइएको छ । संघीय गठबन्धन सरकारमा सहभागी हुने भयो भने माओवादी केन्द्रले पनि दुई मन्त्रालय छाड्नु पर्ने हुन्छ ।
डा.महतको पद गुम्ने हल्लाले परराष्ट्र मन्त्रालयमा कर्मचारीहरूले उनलाई टेर्न छाडेका छन् । कर्मचारीहरूले डा.महतलाई सहयोग गर्न छाडेको एक कांग्रेसी नेताले बताए । ‘काम लिएर गएको थिएँ, परराष्ट्रका कर्मचारीले डा.प्रकाशशरण महतलाई टेर्नै छाडेका रहेछन्’, ती कांग्रेसी नेताले भने–‘उपेन्द्र यादव मन्त्री बन्ने हल्ला व्यापक रहेछ । त्यही भएर नटेरेका होलान् ।’उता, परराष्ट्र मन्त्रालयमा डा.महतकी पत्नी वीना बुढाथोकी महतको हालिमुहाली बढ्न थालेको छ । पत्नी महतले मन्त्रालयका हरेक निर्णयमा हस्तक्षेप गर्ने गरेको स्रोतले जनाएको छ । वीनाले कहाँ–कहाँबाट पैसा आउँछ भनेर सूची नै बनाएकी छिन् । उनको नजर अहिले कुटनीतिक नियोग, पासपोर्ट शाखा, वैदेशिक सहयोग शाखा, राजदूत नियुक्ति आदिमा पुगेको छ ।
वीनालाई डा.महतका प्रेस सल्लाहकार एकराज पाठकले सहयोग पु-याइ रहेका छन् । पाठकलाई वीनाले प्रेस सल्लाहकारमा नियुक्ति गर्न दबाब दिएकी थिइन । यसअघि डा.महतको प्रेस सल्लाहकारमा नुवाकोट घर भएका पत्रकार पवन आचार्यको नाम चर्चामा थियो । नेपाल परिवार नियोजन संघ र आफ्नो एनजिओको प्रपोजल लेखिदिए वाफतको गुन तिर्न वीना बुढाथोकी महतले पाठकलाई प्रेस सल्लाहकार बनाइको आरोप कांग्रेसी पत्रकारहरूको छ । नेपाल प्रेस युनियनसँग कुनै सल्लाह नगरिकनै पाठकले प्रेस सल्लाहकार पड्काएपछि थापागाउँतिर उनको आलोचना हुन थालेको छ । यसअघि उर्जामन्त्री बनिसकेका डा.महतको कार्यकुशलता छैन भन्नेहरू धेरै छन् । पत्नीसँग अत्याधिक डर मान्ने डा.महत फेरि पनि परराष्ट्र मन्त्रालयमा बद्नाम हुने हुन् कि भनेर नुवाकोटका उनका शुभेच्छुकहरू चिन्तित बनेका छन् । डा.महतलाई उर्जा मन्त्री हुँदाको बद्नाम छवि सुधार गर्न पटक–पटक सुझाव दिए पनि पत्नी वीनाका कारण वानि व्यहोरा सुधार गर्न नसकेको बताइन्छ।यूनाइटेड पोस्ट साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया