पीआईडीद्धारा उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीव्रता
काठमाडौं ।
आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा एसियाली विकास बैंङ्क (एडिकी) को ऋणबाट विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीव्रता दिएको छ । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका मध्ये थप १६ वटा खानेपानी वितरण सञ्जाल (डीएमए) का पाँच सय ७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिएका छन् ।
उनले भने, ‘मन्त्री ज्युको निर्देशन पश्चात हामीले निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत विच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौँ उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका जम्मा नौँ सय ८० किलोमिटर नयाँ पाइपलाइनमध्ये थप पाँचसय ७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको हो ।’
अन्तिम परीक्षण सम्पन्न भएका थप १६ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्नका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।
यसअघि, पहिलो चरणमा चार र दोस्रो चरणमा दश गरी १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा तीनसय ५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको पीआईडीले जनाएको छ ।
बाँकी रहेका काठमाडौँका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका तीन वटा डीएमए हरुका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण समेत चाडै सम्पन्न गर्ने गरी कार्य भइरहेको प्रमुख चौधरीले बताए ।
निर्देशनालयबाट विच्छ्याइएका खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन समेत गरी कूल एक हजार दश किलोमिटर नयाँ पाइपलाइन रहेको जनाइएको छ ।
यसैगरी, खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार आठसय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको बताइएको छ । यसअघि, निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरीहरु र थोक वितरण प्रणालीहरु हाल सञ्चालनमा रहेका छन् ।
खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रुपमा खानेपानी वितरण हुँदै आएको र चुहावटको समस्या खासै नदेखिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले दाबी गरेको छ ।
प्रतिक्रिया