नेपाली कला, संस्कृति प्रवर्द्धनका लागि आर्टशाला नेपाल र म्युजिक म्युजियमबीच सम्झौता
काठमाडौं ।
नेपाली कला र संस्कृतिको अनुसन्धान, विकास, तथा प्रवर्द्धनमा कार्यरत आर्टशाला नेपाल र म्युजिक म्युजियम अफ नेपालबीच विभिन्न कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
नेपाली संगीतको समृद्ध इतिहास, सांगीतिक परम्परा, तथा दुर्लभ संगीत वाद्ययन्त्रहरूको संरक्षण, अनुसन्धान, र प्रवर्द्धन एबम् नेपालका विभिन्न जाति, समुदाय, र संस्कृतिसँग सम्बन्धित ऐतिहासिक तथा परम्परागत संगीत वाद्ययन्त्रहरू संकलन, प्रदर्शन, तथा अध्ययन गर्ने कार्य गर्दै आएको नेपाली लोक बाजा संग्रहालय र नेपाली कला, संस्कृति, र सम्पदाको अनुसन्धान, संरक्षण, प्रवर्द्धन तथा विकास ,विशेष गरी आधुनिक कला, भित्ताचित्र, मूर्तिकला, र डिजिटल कलाको विकासका श्रेत्रमा काम गर्दै आएको आर्टशाला नेपालबीच विभिन्न कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार दुबै संस्थाले संयुक्त रूपमा विभिन्न विद्यालयहरूमा संगीतात्मक कार्यक्रम सञ्चालन गर्ने तथा विद्यार्थीहरूलाई नेपाली चित्रकला र संगीतको ज्ञान प्रदान गर्ने सहमति भएको छ ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई थाङ्का चित्रकला, पाउवा चित्रकला, आधुनिक कला, तथा ऐतिहासिक नेपाली संगीत वाद्ययन्त्रहरूको जानकारी प्रदान गरिने छ। यस पहलले नेपाली कला र संगीतको जगेर्ना गर्दै विद्यार्थीहरूमा सिर्जनशीलता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
सम्झौता पत्रमा आर्टसाला नेपालका प्रतिनिधि तथा म्युजिक म्युजियम अफ नेपालका पदाधिकारीहरू उपस्थित रहेको थिए। दुबै संस्थाले नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली लोक बाजा सङ्ग्रहालयमा मादल, सारंगी, बांसुरी, पञ्चाइ बाजा, दमाहा, शंख, एकतारे, अरुण्ता लगायत विभिन्न दुर्लभ वाद्ययन्त्रहरू संग्रहित छन्। यी वाद्ययन्त्रहरू नेपाली संस्कृति, परम्परा, तथा विभिन्न जातीय समूहहरूको संगीतसँग गहिरो सम्बन्ध राख्छन्। म्युजिक म्युजियम अफ नेपालले नेपाली मौलिक संगीतको जगेर्ना गर्दै नयाँ पुस्तालाई सांगीतिक सम्पदाप्रति आकर्षित गराउने उद्देश्य राखेको छ।
आर्टसाला नेपाल नेपाली कला, संस्कृति, र सम्पदाको अनुसन्धान, संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो। यस संस्थाले नेपाली चित्रकला, मूर्तिकला, आधुनिक तथा परम्परागत कला, र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान स्थापित गर्ने कार्य गरिरहेको छ।
काठमाडौको थानकोट (चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम) , ललितपुर, भक्तपुर, नुवाकोट , हेटौडा, धनगढी लगाएताका शहरहरुमा थ्रि डि आर्ट म्युजियम बिकास समेत गरेको र काठमाडौ लगाएतका देशका मुख्य शहरहरुमा भित्ते चित्रका साथै बिदेशमा समेत चित्रकला सम्बन्धी बिभिन्न कार्यक्रम गरिसकेको आर्टशाला नेपालले नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न शैक्षिक संस्था, सङ्ग्रहालय, तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गर्दै आएको छ। साथै, विद्यालय तथा अन्य शैक्षिक संस्थाहरूमा कला सम्बन्धी प्रशिक्षण, प्रदर्शनी, र कार्यशालाहरू सञ्चालन गरी नयाँ पुस्तालाई कला र सांस्कृतिक सम्पदाप्रति आकर्षित गराउने अभियानमा सक्रिय छ।
प्रतिक्रिया