एमाले कास्कीमा भाँडभैलो
पोखरा : उम्मेदवार मनोनयनमा एकपक्षीय भएको भन्दै कास्की एमालेमा भाँडभैलो मच्चिएको छ । एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै एमाले स्थायी कमिटिमा उजुरी परेपछि घटना बाहिर आएको हो । कास्कीबाट वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सिफारिसमै बडारिएपछि भाँडभैलौ मच्चिएको एक नेताले बताए । प्रदेशसभाका आकांक्षी एमालेका पूराना नेता श्रीनाथ बराल, प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुलबहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रिय कमिटिमा पठाएका हुन् । प्रदेश कमिटि हुँदै सीधै केन्द्रमा उजुरी दर्ता गरेको नेताहरुले बताएका छन् । एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भनेपनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफुहरुलाई पाखा पारिएको आरोप लगाएका छन् । एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका रुपमा चिनिन्छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्र भुसको आगो सल्किएको छ । बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (ख), बनबासी क्षेत्र नम्बर १ (क), गुरुङ क्षेत्र नम्बर २ (क), पौडेल क्षेत्र नम्बर ३ (ख) र वली प्रतिनिधीसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए ।एमालेले प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि सबै क्षेत्रका उम्मेदवार भोटिङमार्फत टुंग्याएको थियो ।
प्रतिक्रिया