ओलीले प्रचण्डलाई धोका दिने खतरा, यस्तो छ योजना
काठमाडौं । सोमबार बेलुका सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी ओली, वामदेव गौतम, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङसहितका शीर्ष नेताहरूको गोप्य बैठक बस्यो । बैठकमा एमालेका अन्य नेताहरूलाई बोलाइएको थिएन । त्यो बैठकमा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन र निर्वाचनपछि गर्ने भनिएको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतको भनाई छ ।
बैठकमा ओलीले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका बेला धोका दिने सूचना आफूले पाएको कुरा सुनाएका थिए ।
लगत्तै गौतमले पनि प्रचण्ड धेरै विश्वास गर्ने व्यक्ति होइनन् भनेर जवाफ दिएका थिए । तर, उनीहरू वाम गठबन्धन मिलेर चुनावमा जाँदा कांग्रेसलाई हराउन सजिलो हुने भन्ने विषयमा भने एकमत थिए । स्रोतका अनुसार सुनसान स्थानमा बसेको गोप्य बैठकमा माओवादीसँग वाम गठबन्धन बनाएपनि पार्टी एकीकरण गर्नु हुँदैन भन्ने निष्कर्ष एमालेका नेताहरूले निकालेका छन् । यस्तै अवस्था रहेमा माओवादी र एमालेको गठबन्धन मंसिर १० गतेभित्र टुट्न सक्ने स्रोतको दावी छ ।
बैठकमा प्रचण्डले वर्दियास्थित आफ्नो निर्वाचन क्षेत्र ताकेको गौतमले सुनाएका थिए । त्यसपछि ओलीले तपाई कहाँबाट उठ्ने भनेर सोधेका थिए । जवाफमा गौतमले ‘प्रचण्डलाई अहिले भाग्न दिनु हुँदैन, बरु म प्यूठानबाट उठ्छु’ भनेका थिए । यद्यपि ओलीले ‘यो प्रचण्ड भन्ने व्यक्तिलाई विश्वास गर्न नसकिने भइयो, एमालेले माओवादीको आकारभन्दा धेरै सिट दिँदा पनि पेल्न छाडेन’ भनेका थिए । प्यूठानका नेता तथा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वामदेव गौतमलाई प्यूठान छिर्नै नदिने योजना बनाएका छन् ।
यदि गौतमलाई प्यूठानमा टिकट दिए कुनै पनि हालतमा हराइ दिने यसअघि फेसबुकमा स्ट्याटस लेखेर थापाले डिलेट गरेका थिए । चितवनमा माओवादी केन्द्रले एमालेसँग दुई वटा क्षेत्र मागेको छ । तर, एमालेले ३ नं. क्षेत्र मात्रै दिन तयार भएको छ । १ र २ नं. क्षेत्रमा कृष्णभक्त पोखरेल र सुरेन्द्र पाण्डेका लागि एमालेले छुट्याइ सकेको छ ।
प्रचण्डले दुई वटा क्षेत्र मागेर एमालेलाई अक्करमा पारेका हुन् । ३ नं. क्षेत्रमा राप्रपाका प्रभावशाली नेता बिक्रम पाण्डेले उम्मेदवारी दिँदै छन् । पाण्डेलाई कांग्रेसले समर्थन गर्ने जनाई सकेको छ ।यस्तो अवस्थामा आफू पराजित हुने हुँ कि भन्ने डरले प्रचण्डलाई सताएको छ । सोही कारण प्रचण्डले एमालेका नेताहरूलाई धम्काएर सुरक्षित क्षेत्र खोजी रहेका छन् । २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं.१० बाट नेपाली कांग्रेसका राजन केसीले प्रचण्डलाई पराजित गरिदिएका थिए । पछि प्रचण्डलाई सिरहाबाट एमाले र कांग्रेसको सल्लाहमा जिताएर ल्याइएको थियो ।यूनाइटेड पोस्टमा खबर छ
प्रतिक्रिया