अध्यक्ष दाहाल भन्छन्–‘मधेसी जनताको अधिकार चाहने पार्टी माओवादी नै हो’
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै मधेसी जनताको अधिकार चाहने पार्टी भएको बताएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) सम्वद्ध तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेललगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले मधेसी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताए । पार्टीमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने बताउँदै अध्यक्ष दाहालले माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिल्ने बताए । कार्यक्रममा संघका अध्यक्ष पटेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएकाले आफूले राजपा छोडेको बताए। कार्यक्रममा अध्यक्ष पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
प्रतिक्रिया