पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ८०७ जनाको उम्मेदवारी
काठमाडौं : पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ८०७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको ३७ सिटका लागि ३२३ र प्रदेशसभाका ७४ सिटका लागि ४८४ जनाले उम्मेदवारी दिएका छन् । उजुरीमाथि भोलि उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ८ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्तासँगै आचारसंहिता लागू भएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् । प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का रुकुम (पूर्वी भाग) र रोल्पामा पनि पहिलो चरणमै चुनाव हुँदैछ । प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि सोही दिन निर्वाचन हुनेछ । यता, वाम गठबन्धनका दलहरूले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छिटपुट असन्तुष्टिसहित उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि पहिलो चरणका कुल ३७ सिटमा तालमेलअनुसार एमालेले २१ र माओवादी केन्द्रले १६ क्षेत्रमा उम्मेदवारी दिएका छन् । ३२ जिल्लाका प्रदेशसभाका ७४ सिटमध्ये माओवादी केन्द्रले ३३ र एमालेले ४१ सिटमा तालमेल गरेका छन् ।
प्रतिक्रिया