कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : प्रधानमन्त्री

कांग्रेसलाई एक्ल्याउने प्रयास असफल काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई एक्ल्याउने प्रयास भएको भन्दै चुनावमा समर्पित भएर खट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल विद्यार्थी संघद्वारा समसामयिक सन्दर्भमा आज आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले भने–‘अहिले कांग्रेसलाई एक्ल्याउने प्रयास भएको छ तर, यो असफल हुनेछ, हामीले जनताको मन जित्ने छौं ।’ उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुनुका साथै मुलुकमा सर्वसत्तावादको जन्म हुने भएकाले विशेष ध्यान दिन कार्यकर्तालाई आग्रह गरेका छन्। सभापति देउवाले पार्टी बलियो बनाउन सबै नेता एक भएको बताउँदै चुनावमा खटिन विद्यार्थीहरुलाई आग्रह गरे। प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई खतरामा पर्न नदिन पनि दुवै निर्वाचनमा कांग्रेस विजयी हुनुको विकल्प नरहेको दावी समेत गरे। उनले निर्वाचनमा कांग्रेसलाई विजयी गराउने गरी जुझारु र गतिशील भएर जनतासँगको सम्बन्धलाई अझै घनिष्ट बनाउन पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराए। कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसले चुनाव जित्नै पर्ने दावी गरे। उनले कम खर्चमा चुनाव गरेर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न नेपाल विद्यार्थी संघका नेतृत्वलाई निर्देशन पनि दिए। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्टहरुलाई परास्त गरेर मुलुकको लोकतन्त्रलाई सुदृढ बनाउने दायित्व पूरा गर्न नेपाल विद्यार्थी संघको नेतृत्वलाई निर्देशन दिए। कार्यक्रममा नेपाल विद्यार्थी संघका नेताहरुले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एकतावद्ध भएर कांग्रेसलाई विजयी बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित