चिकित्सा शिक्षा विधेयक फेल गराउने एमालेको चेतावनी
काठमाडौं : विवादमा परेको चिकित्सा शिक्षा विधेयकका विषयमा सहमति गराउनका लागि भन्दै सभामुख ओनसारी घर्ती मगरले प्रमुख तीन दलका शिर्ष नेताको बैठकमा बाेलाएकाे अवस्थामा एमालेले भने विधेयक फेल गराउने सम्मकाे चेतावनी दिएको छ । एमालेले मनमोहन मेडिकल कलेजलाई रोक्न मात्रै यस्तो कानुन बनाउन दवाव सिर्जना गरिएको भन्दै विधेयक संशोधन गर्न नमानेको एमालेले संसदको बैठकबाट विधेयक फेल गराउने चेतावनी दिएको हाे । सिंहदरबारमा सरकारले संशोधनसहित ल्याउन चाहेको चिकित्सा शिक्षा विधेयक पास गर्ने विषयमा सहमति जुटाउन बसेको बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले समितिले सर्वसम्मत रुपले तयार गरेको प्रतिवेदनअनुसार विधेयक अगाडि नबढाए फेल गराउने चेतावनी दिएका हुन्। तर सरकार भने १३ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन हुनेगरी संसदीय समितिको प्रतिवेदन संशोधन गरी विधेयक पास गर्ने तयारीमा छ । संसदको बैठकबाटै विधेयक संशोधन गर्ने सरकार र कांग्रेसको प्रस्तावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिरोध गरेका छन्। बैठकमा सांसद पाण्डेले मनमोहन मेडिकल कलेज रोक्न मात्र विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाए। कांग्रेस सांसद गगन थापाले भने संसदीय समितिको सबै निर्णय मान्य हुने हो भने किन संसदको पूर्ण बैठकमा लैजानुपर्यो भन्दै प्रश्न उठाएका थिए। शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकारले संशोधनसहित विधेयक सदनमा लैजान पाउने र त्यसको पक्ष वा विपक्षमा भोट हाल्न सांसदहरु स्वतन्त्र रहेको भन्दै आफूलाई विधेयक संसदमा लैजान रोक्न नमिल्ने तर्क गरेका थिए। अनसनमा रहेका गोविन्द केसीले काठमाडौं उपत्यकामा कम्तिमा दश वर्ष अन्य मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अस्पताल संचालन गरेको कम्तिमा तीन वर्ष मेडिकल केलज संचालन गर्न नपाउने लगायतका माग राख्दै आएका छन्। केसीको माग विधेयकमा समेट्न सरकार र कांग्रेसले पहल गर्दै आएको छ। एमालेले भने मनमोहन मेडिकल कलेजलाई रोक्न मात्रै यस्तो कानुन बनाउन दवाव सिर्जना गरिएको भन्दै विधेयक संशोधन गर्न मानेको छैन।
प्रतिक्रिया