ओली र वाङबीच सोल्टीमा किन भयो गोप्य वार्ता ?

काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आफ्ना भ्रमणका क्रममा एमालेका अध्यक्ष केपी ओलीलाई गोप्य भेटवार्ता गरेका छन् । एमालेका नेताहरूसँग सामूहिक भेटपछि वाङले ओलीसँग ‘वान टू वान’ वार्ता गरेका हुन् । यो भेटवार्तालाई नेपालका बुद्धिजीवी र भारतीयहरूले आशंकाका रुपमा हेरेका छन् । स्रोतका अनुसार वाङ र ओलीबीच भएको त्यो गोप्य वार्ताको कुराकानी ओलीले एमालेका प्रभावशाली नेताहरूलाई पनि भनेका छैनन् ।कुनै बेला भारतीय पक्षको सबैभन्दा नजिक र विश्वासपात्रका रुपमा काम गर्दै आएका एमाले अध्यक्ष ओलीले एकाएक चीनसँगको सम्बन्धलाई नजिक्याउनुलाई ठूलो रहस्यका रुपमा हेरिएको छ ।

  ओलीले नाकाबन्दीका बेला भारतले आफूलाई असहयोग गरेर सत्ताबाट च्युत गरेको बदला चीनसँग नजिकिएर देखाउन खोजेको कुटनीतिक रुपमा हेर्न थालिएको छ ।भारतसँग नजिक हुँदा ‘भारतीय दलाल’ भन्ने एमालेका नेताहरूलाई अब के भन्ने भनेर मुलुकभित्र कुरा उठ्न थालेको छ । एमालेभित्रै भारतसँग निकट मानिने एक नेताले भने–‘सिधा भाषामा भन्ने हो भने चीन र भारत हाम्रा लागि छिमेकी हुन् । दुबैलाई हामीले आफ्नो आवश्यक्ताअनुसार कुटनीतिक रुपमा प्रयोग गर्न सक्नु पर्छ ।

तर, भारत वा चीनमध्ये कसैको पनि गुलामी गर्ने भनेको त्यो दलाली हो ।’चिनियाँ उपप्रधानमन्त्री वाङसँग ओलीले सोल्टी होटेलमा गरेको भेटवार्तालाई एमाले निकटका सञ्चारमाध्यमहरूले महत्वका साथ दिएका छन् । उनीहरूले भारत नजिक मानिनेहरूलाई भने खेदो गरेका छन् । चीनको पछाडि लाग्ने एमालेहरूलाई चिनियाँ ‘दलाल’ भन्न कुनै पनि हिच्किचाहट नहुने ती नेताहरूले बताए । उपप्रधानमन्त्री वाङसँगको भेटमा ओलीले भारतविरुद्ध कुरा राखेको स्रोतको भनाई छ ।

 ओलीले भारतलाई देखाउनका लागि पनि आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरिएका सम्झौता र समझदारी कार्यान्वयनमा जोड दिएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले पनि ओली सरकारको पालामा भएका सहमति र सम्झौतालाई प्रभाबकारी ढंगमा कार्यान्वयनमा लैजानेबारे छलफल भएको स्वीकार गरेका छन् । ओलीले भारतलाई काउन्टर दिनका लागि चीनलाई उकासेको आरोप पनि छ । नेपाल–चीनबीचको कनेक्टिभिटीमा ओलीले वाङसँग आग्रह गरेका थिए ।

  ओलीले उत्तरीतिरका नाका खोलेर चीनको गतिविधिलाई नेपालभित्र गर्नका लागि उकासेको आरोप छ । अध्यक्ष ओलीले चीनको हस्तक्षेप नेपालमा भित्र्याउने खेलामा लागेको भन्दै एमालेभित्र चर्को विरोध भएको छ । एमालेका राष्ट्रप्रति वफादार नेताहरूले भारत र चीन कसैको पनि नेपाल र नेपालीप्रति हस्तक्षेप गर्न नपाइने बताएका छन् । ओलीले आफू अनुकूल हुँदा भारतको पक्षपोषण गरेर आफ्नो पक्षमा भारतले सहयोग नगरिदिँदा चीनतिर लसपस गरेको आरोप लाग्दै आएको छ । यसअघि केही दिन अगाडि बिमस्टेकको बैठकमा भाग लिन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीलाई खासै महत्व दिएकी थिइनन् । त्यस बेला ओलीलाई धेरै महत्व नदिएपछि खिन्नता बोध राखेका उनले वाङसँग एक्लै भेटेर त्यसको बदला लिएको बताइन्छ । भारतले पछिल्लो समय एमाले र विशेष गरेर केपी ओलीका गतिविधिहरूलाई रुचाएको छैन । ओलीले बदलाको भाव राखेर काम गर्दै आएको आरोपहरू कांग्रेस र माओवादी केन्द्रका नेताहरूले लगाउँदै आएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित