एनजिओको पैसामा एमाले र राजपाको मस्ती
काठमाडौं : पश्चिमा राष्ट्रहरूको स्वार्थमा राष्ट्रहित विपरितका काम गर्दै आएका मानवअधिकारवादी नेता दमननाथ ढुंगाना एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मिलापमा लागेका छन् । ढुंगानाले एमाले र राजपा नेपालका दोस्रो तहका उदाउँदै गरेका नेताहरूलाई रात्रिकालीन भोज र दारुपार्टी दिएर नजिक बनाउने प्रयास गरेका हुन् । राजधानीको महँगो रिसोर्टमा दुई रात दारुपार्टीमा सहभागी भएर एमाले र राजपा नेपालका नेताहरूले राष्ट्रहित विपरितका मुद्दामा छलफल गरेको स्रोतले जनाएको छ । पश्चिमा राष्ट्र स्वीजरल्याण्डको फण्डिङमा काम गर्दै आएको दमननाथ ढुंगानाको एनजिओमार्फत ती नेताहरूलाई दारुपार्टी दिइएको हो । दारुपार्टीमा एमालेका धनश्याम भुसाल, रविन्द्र अधिकारी, डा.राजन भट्टराई, प्रदीप ज्ञवाली तथा राजपा नेपालका लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, मनीषकुमार सुमन, रामनरेश राय यादवहरू सहभागी थिए । यो दारुपार्टीको कुरालाई दुबै दलका नेताहरूले लुकाउने प्रयास गरेका छन् । तर, दमननाथ ढुंगानाको एनजिओमार्फत समाचार लिक भएको छ । ढुंगानाले आफ्ना सहयोगीमार्फत ती नेताहरूलाई एक्सपोज गरेका हुन् । योसँगै ढुंगानामाथि एमाले र राजपा नेपालबीचको बढ्दो दूरीलाई कम गराउने तथा क्रिश्चियनको क्रियाकलाप बढाउने योजनामा लागेको छ । स्रोतका अनुसार ढुंगानाले पश्चिमा राष्ट्रहरूको योजनाअनुसार चीन विरोधी गतिविधि बढाउन चाहेको पनि बताइएको छ । दमननाथ ढुंगानाले बेलाबेला सम्भावना बोकेका युवा राजनीतिज्ञहरूलाई प्रयोग गर्ने गरेका छन् । नेपाली कांग्रेसबाट कुनै बेला सभामुख बनेका ढुंगानाका यस्तै खालका संकास्पद गतिविधि थाहा पाएपछि कोइराला परिवारले कहिल्यै पनि राजनीतिमा अवसर दिएको थिएन । अहिले आएर कोइराला परिवारले किन ढुंगानालाई राजनीतिमा अवसर दिएन भन्ने कुराको रहस्य पनि विस्तारै खुल्न थालेको छ । – यूनाइटेड पोष्टबाट
प्रतिक्रिया