कसरी थप्छन् प्रधानमन्त्री देउवाले नयाँ जिल्ला ?
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नयाँ जिल्ला कायम गराउन पहल गर्ने आश्वासन दिएपनि नयाँ जिल्ला बनाउन भने त्यति सहज छैन । नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले सो प्रतिबद्धता जनाएका हुन् । उनीहरु प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास नै पुगेका थिए । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लालाई थप नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै शनिबार सो टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो । सोहि क्रममा उनीहरुले नवलपुर क्षेत्रका बारेमा सबै जानकारी गराउँदै नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिति निर्माण गर्न माग गरेपछि प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न आफूले पहल गर्ने आश्वासन दिएको टोलीमा सहभागी नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले जानकारी दिए । टोलीमा नवलपरासी क्षेत्र नं १ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइराला, एमालेका केन्द्रीय सदस्य तिलक महत, काँग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, एमाले नवलपुर क्षेत्रका संयोजक रोशनबहादुर गाहा, माओवादी केन्द्रका नवलपुर संयोजक, घनलाल सापकोटा रहेका थिए । संविधानमा उल्लेखित सात प्रदेशले नवलपरासी जिल्लालाई बर्दघाट त्रिवेणीदेखि पूर्व नवलपुर र बर्दघाट पश्चिमको क्षेत्रलाई परासी गरी दुई भागमा विभाजन गरेको थियो । अहिले उक्त जिल्ला प्रदेश नं ४ र ५ मा पर्छ ।
प्रतिक्रिया